Biratnagar, Morang, Nepal
स्वास्थ

देशकै नमुना मेडिकल कलेज बन्दै विराट

गुणस्तरीय शिक्षाको बेंचमार्क विराट मेडिकल कलेज: डा. ज्ञानेन्द्र मान सिंह कार्की

मेडिकल शिक्षामा नेपाललाई क्षेत्रीय हब बनाउने संकल्प
-
अखवारका कुरा
१० भदौ २०८२, बुधवार

Advertisement

विराटनगर – विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीले व्यक्तिको हठका कारण शिक्षा पाउने नागरिकको अधिकार हनन हुनु नहुने बताएका छन् । उनले मेडिकल शिक्षा सर्वसुलभ बनाउन सके मात्र खर्बौँ रुपैयाँ विदेशिने प्रवृत्ति रोक्न सकिने भन्दै मेडिकल कलेजलाई गुणस्तर र सहज पहुँच दुवै दृष्टिले सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

मङ्गलबार अस्पतालमा आयोजित विशेष कार्यक्रममा उनले भने, “हामी बेंचमार्क बन्ने दिशामा अघि बढिरहेका छौं । मेडिकल कलेज सञ्चालन खर्चिलो हुन्छ, तर पनि गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौं । नेपालका मेडिकल कलेजहरूले भौतिक पूर्वाधारमा निरन्तर लगानी गरिरहेका छन् । कसैलाई गुणस्तरीय शिक्षा पाइँदैन भन्ने लाग्छ भने विराट मेडिकल कलेज आएर हेर्न सक्छ।”

उनले नेपालमा विदेशी विद्यार्थी भित्र्याएर शिक्षा र स्वास्थ्यको हबका रुपमा विकास गर्न सकिने पनि बताए । “नेपालमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिने क्षमता छ, यो सम्भावनालाई मूर्तरुप दिन सकियो भने नेपाल क्षेत्रीय हब बन्न सक्छ,” उनले स्पष्ट पारे ।

कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत  वाग्लेले नयाँ भवनभित्र स्थापना गरिएको अत्याधुनिक अपरेसन थिएटरको उद्घाटन गरे । उनले अत्याधुनिक पूर्वाधारले गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार यस्ता पहलले निजी स्वास्थ्य संस्थाको योगदानलाई अझ सबल बनाउँदै मुलुकभित्रै उच्चस्तरीय स्वास्थ्य सेवा र दक्ष जनशक्ति उत्पादनमा मद्दत गर्नेछ ।

कार्यक्रममा काठमाडौ विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सका डिन प्रोफेसर डाक्टर मनोज हुमागाँइ  , कलेजका विभागीय प्रमुखहरु , विद्यार्थी, पत्रकार  तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

View : 153

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved