Biratnagar, Morang, Nepal
स्वास्थ

बजारका जुस र स्वास्थ्य: फल होइन, फन्दा!

डाक्टर पार्थ गुरागाईं
२९ कार्तिक २०८२, शनिवार

Advertisement

हामीमध्ये धेरैले बिहानको नास्ता वा खाना पछाडि फलको जुसभनेर बजारमा पाइने प्याकेट वा बोतलको जुस पिउने गर्छौं। टेलिभिजन र संचार माध्यममा आउने  विज्ञापनहरूले पनि भन्छन् - “यो प्राकृतिक फलको रस हो, स्वास्थ्यका लागि राम्रो।तर, के साँच्चै यी जुसहरू स्वास्थ्यका लागि फाइदाजनक छन्? सत्य के हो भने, बजारका धेरैजसो जुसहरू फल होइन, फन्दा हुन्।

जुस होइन, चिनी र रसायनको मिश्रण

बजारमा पाइने धेरैजसो जुसहरूमा फलको अंश निकै कम हुन्छ । कतिपयमा त केवल १०-१५ प्रतिशत मात्र फलको अंश हुन्छ। बाँकी भाग के हुन्छ? चिनी, कृत्रिम स्वाद (flavor), रङ, र संरक्षक पदार्थ (preservatives)
यी जुसमा प्रयोग हुने चिनीको मात्रा अत्यन्तै बढी हुन्छ । एक गिलास जुसमा कहिलेकाहीँ ५६ चम्चा बराबर चिनी हुन्छ। यस्तो बढी चिनी सेवनले मधुमेह, तौल बढ्ने, बोसो बढ्ने र मुटुरोगको जोखिम बढाउँछ।

फ्रुट ड्रिङ्कजुसबीचको भ्रम

प्याकेटमा लेखिएको फ्रुट ड्रिङ्कवा फ्रुट फ्लेभर बेभरेजशब्दले धेरैलाई भ्रम पार्छ। फ्रुट ड्रिङ्कभनिएका उत्पादनमा सामान्यतया १० प्रतिशतभन्दा कम फलको रस हुन्छ, बाँकी सबै पानी, चिनी र रसायन हुन्छ।
साँचो फलको जुस भनेको १०० प्रतिशत फलबाट बनेको, कुनै चिनी र रसायन नथपिएको हुनुपर्छ , जुन बजारमा पाउन गाह्रो छ, र भए पनि महँगो हुन्छ।

जुसमा लुकेको बोझ - ‘क्यालोरी बम

फल खानु र फलको जुस पिउनुमा ठूलो फरक हुन्छ।
एक स्याउ खानु भनेको फाइबरसहित पोषण लिनु हो; तर, त्यही स्याउको जुस पिउँदा फाइबर हराउँछ, र केवल चिनी र क्यालोरी मात्र रहन्छ।
फाइबरले शरीरमा चिनीको अवशोषण ढिलो गराउँछ, जसले मधुमेह र मोटोपनाबाट जोगाउँछ। तर जुसमा त्यो प्राकृतिक नियन्त्रण हराउँछ।

बालबालिकाको स्वास्थ्यमा असर

विज्ञापनहरूमा बच्चाले खुशीसाथ जुस पिउँदै देखाइन्छ, तर यी पेय पदार्थले बालबालिकाको दाँत बिगार्छ, तौल बढाउँछ, र चिनीको लत लगाउँछ।
बच्चाले बारम्बार मीठो जुस पिएपछि पानी पिउन मन नगर्ने, साधारण फल खान नचाहने, र पाचनसम्बन्धी समस्या हुने सम्भावना बढ्छ।

रङ र स्वाद :  आकर्षक तर खतरनाक

जुसलाई आकर्षक देखाउन र मीठो बनाउन प्रयोग गरिने कृत्रिम रङ र स्वाद पदार्थहरू (artificial color and flavor) ले दीर्घकालीन स्वास्थ्य असर पार्न सक्छ।
कतिपयमा प्रयोग हुने रसायनहरूले एलर्जी, छालामा समस्या, टाउको दुख्ने, वा पेटमा असहजता ल्याउन सक्छन्।
यी पदार्थहरू बालबालिका र गर्भवती महिलाका लागि अझ बढी हानिकारक हुन सक्छन्।

स्वास्थ्यका लागि राम्रो विकल्प के हो?

१. ताजा फल खानुहोस्: फलबाट प्राकृतिक रूपमा फाइबर, भिटामिन, खनिज, र एन्टिअक्सिडेन्ट पाइन्छ।
२. घरमै जुस बनाउनुहोस्: यदि जुस पिउनै मन छ भने, घरमै फल उमालेर वा ब्लेन्ड गरेर बनाउनुहोस्। चिनी नथप्नुहोस्।
३. पानी र सादा पेय पिउनुहोस्: जुसको सट्टा सादा पानी, नारिवल पानी, वा नुन र कागती हालिएको घरेलु पेय उत्तम विकल्प हुन्।
४. बालबालिकालाई शिक्षित बनाऔं: उनीहरूलाई मिठो पेय होइन, ताजा फल खाने बानी लगाऔं।

निष्कर्ष

बजारका जुसहरू देख्नमा आकर्षक र स्वादमा मीठा लाग्छन्, तर भित्र लुकेको चिनी, रसायन र रंगले हाम्रो शरीरलाई बिस्तारै नोक्सान पुर्याइरहेको हुन्छ।
फलको वास्तविक पोषण र स्वास्थ्य लाभ पाउन फलको रस होइन, फल नै खानुहोस्।
स्वास्थ्यका नाममा फन्दामा नपरी अब सचेत बनौं

View : 69

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved