Biratnagar, Morang, Nepal
स्थानीय तह

पूर्व मुख्यमन्त्री कार्कीले मलहनुवामा निर्मित प्रभु रामजानकी मन्दिर उद्घाटन गर्दै भने— ‘सक्रिय नागरिक सहभागिताले मात्र विकास स्थायी हुन्छ।’

८ मंसिर २०८२, सोमवार

Advertisement

विराटनगर -  विराटनगरको मलहनुवामा अवस्थित प्रभु रामजानकी मन्दिर सोमबार पूर्व मुख्यमन्त्री केदार  कार्कीले रिबन काटी तथा शिलालेख अनावरण गर्दै औपचारिक रूपमा उद्घाटन गरेका छन्।

२०६३ सालमा सामान्य रूपमा स्थापना भएको मन्दिरले पूर्व मुख्यमन्त्री कार्कीको पहलपछि भव्य रूप प्राप्त गरेको मन्दिर समितिले जनाएको छ।

प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँ तथा दाताको सहयोगमा मन्दिरको पुनर्निर्माण तथा संरचना विस्तार सम्पन्न भएको हो।

उद्घाटन समारोहमा सम्बोधन गर्दै पूर्व मुख्यमन्त्री कार्कीले विकास योजनालाई दिगो बनाउन स्थानीयवासीको सक्रियता अत्यावश्यक हुने बताए।
उनले भने, “विकासको बजेट सदुपयोग हुनका लागि स्थानीयको सहभागिता जरुरी छ। विकास आफ्नै लागि हो भन्ने बुझाइ समुदायमा बढ्नुपर्छ । सडक, नाला, खानेपानी यी सबै  स्थानीयकै लागि बन्ने हो। त्यसैले जिम्मेवारी पनि पहिले स्थानीयको हुन्छ।”
यसैबीच, मन्दिर निर्माणको प्रसङ्ग जोड्दै कार्कीले भने
“मन्दिरको विकास भनेको केवल इटा–ढुंगाको संरचना होइन, यो हाम्रो संस्कार, आस्था र पुस्तौँको विश्वास सुरक्षित गर्ने अभियान हो। आस्था जोगाउने र समुदायलाई एक ठाउँमा जोड्ने यस्ता धार्मिक स्थललाई आधुनिक रूप दिनु मेरो दायित्व मात्र होइन, मैले हृदयले बोकिरहेको संकल्प पनि हो।”

उक्त अवसरमा मन्दिर निर्माण तथा मूर्ति स्थापनामा योगदान पुर्‍याउने दाताहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो। मूर्ति स्थापनामा विराटनगर–४ का संजय राजवंशी र विराटनगर–७ का सुजल थापाले सहयोग गरेका थिए।उनीहरुलाइ कदर पत्र सहित सम्मान गरिएको थियो

१६ कट्ठा क्षेत्रफलमा फैलिएको मन्दिरको निर्माण तथा व्यवस्थापनका बारेमा अध्यक्ष बलिराम राजवंशीले जानकारी गराएका थिए । उक्त समारोहको संचालन सचिव दिनेश राजवंशीले गरेका थिए।

उद्घाटन समारोहपछि मन्दिर परिसरमा मंगलबार २४ घण्टे अष्टजाम तथा होमजाम आयोजना हुने समितीले  जनाएको छ। कार्यक्रममा स्थानीयवासी, दाताहरू तथा जनप्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो । 

View : 69

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved