काठमाडौं - पछिल्लो समय नेपालमा आपराधिक घटनाहरू बढ्दै जानुका पछाडि मानसिक स्वास्थ्य समस्या, सामाजिक दबाब र बढ्दो महत्वाकांक्षालाई प्रमुख कारणका रूपमा औंल्याइएको छ। मनोविद् गोपाल ढकालका अनुसार युवापुस्तामा बढ्दो निराशा, आक्रोश र कुन्ठाले हिंसात्मक प्रवृत्तिलाई समेत बढावा दिइरहेको छ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले चिन्ता (एनजाइटी), डिप्रेसन, डर–त्रास, लागूपदार्थ दुव्र्यसन तथा जाँडरक्सीको कुलत व्यापक बन्दै गएको बताए। “सामाजिक सञ्जाल र अनलाइन गेमको लतले किशोर–किशोरीको मानसिक अवस्थालाई गम्भीर रूपमा प्रभावित पारेको छ,” उनले भने, “यसले उनीहरूमा आक्रामक सोचसमेत विकास गराउन सक्छ।”
ढकालका अनुसार मानिसमा आक्रोश बढ्नुका पछाडि डिप्रेसन, तनाव, अनिन्द्रा, असन्तुलित खानपान र सामाजिक दबाबजस्ता कारणहरू जिम्मेवार छन्। विशेषगरी सामाजिक सञ्जालमा देखिने ‘दिखावटी जीवनशैली’ले युवामा असन्तुष्टि र तुलना गर्ने प्रवृत्ति बढाएको उनले बताए।
उनले पछिल्लो ‘जेनजी आन्दोलन’लाई पनि लामो समयदेखि दबिएको आक्रोशको राजनीतिक विस्फोटका रूपमा व्याख्या गरे। “युवाहरूमा रहेको निराशा, बेरोजगारी, विभेद र आर्थिक असमानताले आक्रोश जन्माएको हो, जुन अन्ततः आन्दोलनका रूपमा बाहिर आयो,” उनले भने।
ढकालले सबै समस्यालाई राजनीतिसँग मात्र जोडेर हेर्न नहुने भन्दै समाज, शिक्षा, चेतना र व्यक्तिगत जीवनशैलीले पनि ठूलो भूमिका खेल्ने बताए। “देश बिग्रिएको राजनीति मात्रै होइन, हाम्रो सोच र व्यवहार पनि जिम्मेवार हुन्छ,” उनको भनाइ छ।
उनका अनुसार अहिले पनि समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरू यथावत् छन्। बेरोजगारी, विभेद र अवसरको अभावले युवाहरू कुलतमा फस्ने र त्यसको परिणामस्वरूप हिंसात्मक घटनाहरू बढ्ने जोखिम रहेको उनले औंल्याए।
“महत्वाकांक्षा बढ्नु स्वाभाविक हो, तर त्यसलाई पूरा गर्न नसक्दा उत्पन्न हुने निराशा र दबाबले मानिसलाई आक्रोशित बनाउँछ,” उनले भने, “यसमा सामाजिक सञ्जालले थप इन्धनको काम गरिरहेको छ।”
मानसिक रोगलाई पनि शारीरिक रोगसरह सामान्य रूपमा लिनुपर्नेमा उनले जोड दिए। अन्धविश्वास हटाएर शिक्षा र जनचेतना विस्तार गर्नुपर्ने उनको सुझाव छ।
“राज्यले मानसिक स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्छ, सेवा सर्वसुलभ बनाउनुपर्छ,” उनले भने, “यसले दीर्घकालीन रूपमा समाजमा बढ्दो मानसिक समस्या र त्यससँग जोडिएका अपराध न्यूनीकरण गर्न मद्दत गर्छ।”
View : 32
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved