Biratnagar, Morang, Nepal
स्वास्थ

मुलुककै ठूलो सामुदायिक अस्पताल संचालनमा आउँदै

कटहरीमा दुई अर्बको लगानीमा जीवन विकासको सामुदायिक अस्पताल सञ्चालनको तयारी

प्रधानमन्त्री ओलीद्वारा २४ जेठमा उद्घाटन हुने, २०० शैय्याको अस्पतालबाट सुरु हुँदै सेवा।
-
अखवारका कुरा
१९ जेठ २०८२, सोमवार

Advertisement


विराटनगर — मोरङको कटहरी गाउँपालिका–२ हल्दीवारीमा निर्माण गरिएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेसन २४ जेठदेखि सेवा सञ्चालनमा आउँदैछ। करिब दुई अर्ब रुपैयाँको लगानीमा निर्माण भएको यो अस्पतालको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय गरिएको छ।

सुरुवाती चरणमा २०० शैय्याको क्षमताका साथ सुरु हुन लागेको अस्पतालले ग्रामीण तथा मध्यम वर्गीय जनतालाई लक्षित गर्दै सुलभ शुल्कमा अत्याधुनिक सेवा दिने उद्देश्य राखेको छ।

सामुदायिक अवधारणामा सर्वसुलभ सेवा
अस्पतालका अध्यक्ष योगेन्द्र मण्डलका अनुसार संस्था मुनाफा वितरण नगर्ने सामाजिक उद्यमको अवधारणामा अघि बढेको हो। “हामी लाभको होइन, सेवाको आधारमा अस्पताल चलाउन चाहन्छौं,” उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, “गुणस्तरीय सेवा अब गाउँघरमै उपलब्ध हुनेछ।”

अस्पतालमा आकस्मिक सेवा, विशेषज्ञ ओपीडी, स्त्रीरोग, बालरोग, डायलासिस, जनरल तथा लेप्रोस्कोपिक शल्यक्रिया, हृदयरोग (कार्डियोलोजी) र मस्तिष्क तथा नशा रोग (न्यूरो सर्जरी) सेवा समावेश गरिनेछ। क्याथ ल्याब, सिटी स्क्यान, एमआरआई जस्ता उपकरण थपिने तयारी भइरहेको छ।

मेडिकल कलेजको आधार तयार
२० बिघा क्षेत्रफलमा फैलिएको अस्पतालको संरचना भविष्यमा एमबीबीएससहितका पाठ्यक्रम सञ्चालन गर्न सक्ने मेडिकल कलेजको आधारस्वरूप बनाइएको हो। प्रारम्भिक चरणमा दुई दर्जन विशेषज्ञसहित २०० जना स्वास्थ्यकर्मी कार्यरत छन् भने भविष्यमा जनशक्ति ३७० पुग्ने अनुमान गरिएको छ।

आठतले भवनमा सुविधासम्पन्न सेवा
अस्पताल तीन ब्लकमा विभाजित आठतले भवनमा सञ्चालन हुनेछ।

भुइँतलामा आकस्मिक सेवा (२० शैय्या)

पहिलो तलामा ओपीडी, रेडियोलोजी, ल्याब

दोस्रोमा एनआईसियु, पीआईसियु, बालरोग, स्त्रीरोग वार्ड

तेस्रोमा जनरल वार्ड

चौथो तलामा २५ शैय्याको आईसीयू, १० शैय्याको सीसीयु र एचडियु

पाँचौं तलामा अपरेशन थियेटर र पोस्ट–अप

छैटौं तलामा प्रशासनिक कार्यालय रहनेछ

बाँकी दुई तला निर्माणाधीन अवस्थामा छन्।


शिक्षा तालिमको संयोजन
अस्पतालसँगै टेक्निकल एजुकेशन फाउण्डेसनमार्फत नर्सिङ, फार्मेसी, ल्याब टेक्नोलोजी, रेडियोलोजी, फिजियोथेरापीलगायत स्वास्थ्य विज्ञानका कार्यक्रम  सञ्चालन गरिनेछ। “देशलाई आत्मनिर्भर बनाउने सपना स्वास्थ्य शिक्षा बिना सम्भव छैन,” अध्यक्ष मण्डलले भने।

विपन्न समुदाय लक्षित उद्देश्य
वि.सं. २०५४ मा स्थापना भएको जीवन विकास समाजले यसअघि अमाहीबरियातिमा २४ घण्टे क्लिनिक तथा पब्लिक हेल्थ सेन्टर सञ्चालन गरिसकेको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा, कृषि र रोजगारमा काम गर्दै आएको समाजले यो अस्पताललाई सामाजिक सेवा र समावेशी पहुँचको नमूनाका रूपमा विकास गर्न लागेको हो।

मण्डलका अनुसार नेपालमै पहिलोपटक यति ठूलो संरचना र सेवासुविधासहितको सामुदायिक अस्पताल एकैपटक सञ्चालनमा ल्याइएको हो। अस्पताल अपांगमैत्री, महिला र बालमैत्री संरचनामा निर्माण गरिएको छ। दृष्टिविहीन, अशक्त र सीमान्तकृत वर्गका लागि विशेष व्यवस्थासमेत गरिएको छ।

View : 142

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved