Biratnagar, Morang, Nepal
प्रदेश

पत्रकारिता जोगाउन चुनौतीपूर्ण : महासंघ अध्यक्ष निर्मला शर्मा

-
अखवारका कुरा
१३ वैशाख २०८२, शनिवार

Advertisement

विराटनगर – पत्रकारिता पेशा जोगाउन हालका दिनमा गम्भीर चुनौतीहरू आइपरेको नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले बताएकी छन्।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशले प्रदेश सरकारको सहकार्यमा शनिबारदेखि विराटनगरमा सुरु गरेको पाँचदिने 'लैङ्गिक हिंसा निवारणसम्बन्धी खोज पत्रकारिता तालिम' को उद्घाटन समारोहमा बोल्दै अध्यक्ष शर्माले अहिलेको परिस्थितिमा नेपाली पत्रकारिता सामाजिक सञ्जालको तीव्र प्रभाव, नयाँ सञ्चारमाध्यमहरूको उदय र आर्थिक संकटका कारण जटिल मोडमा पुगेको धारणा राखिन्।

उनले भनिन्, "पत्रकारिता पेशा अहिले गम्भीर आर्थिक संकटमा छ। सामाजिक सञ्जाल र अनलाइन मिडियाको बाढीले सत्य र तथ्यमा आधारित समाचारको आवश्यकता झन् बढेको छ। पत्रकारले सत्य लेख्न छोडे भने पत्रकारिता पेशा मात्र होइन, पत्रकारहरू स्वयं पनि असुरक्षित बन्छन्।"

अध्यक्ष शर्माले सत्यतथ्य पत्रकारिता र व्यावसायिक आचरणमा कठोर प्रतिबद्धता जनाउनुपर्ने आवश्यकता औँल्याइन्। उनले मिडिया क्षेत्र सुरक्षित राख्न राज्यको सक्रिय संरक्षण अपरिहार्य रहेको स्पष्ट पार्दै भनिन्, "पत्रकार र मिडियाको अस्तित्व रक्षा गर्न सरकारको संरक्षण र नीतिगत समर्थन अपरिहार्य भइसकेको छ।"

उनले सामाजिक सञ्जाल तथा अनियमित अनलाइन मिडियामा फैलिने झूठा, भ्रामक र अतिरञ्जित सूचनाहरूले आमजनमा भ्रम सिर्जना गर्ने खतरा बढाएको उल्लेख गर्दै पत्रकारहरूले सत्य, प्रमाणिक र जिम्मेवार समाचार प्रकाशन र प्रसारण गर्नुपर्नेमा जोड दिइन्।

तालिममा ३० जना महिला पत्रकारको सहभागिता

नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आयोजना गरेको यो तालिममा प्रदेशभरका ३० जना महिला पत्रकारहरूको सहभागिता रहेको छ। महिला पत्रकारहरूलाई खोज पत्रकारितामा दक्ष बनाउने उद्देश्यसहित तालिम सञ्चालन गरिएको हो।

तालिम कार्यक्रम महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सुरु भएको हो। तालिममा अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार बन्धु पोखरेल, अनुसन्धानमूलक पत्रकारितामा परिचित शिव गाउँले, तथा सञ्चार प्रशिक्षक यज्ञ शर्मा लगायतले विभिन्न सत्रहरूमा प्रशिक्षण दिनेछन्।

लैङ्गिक हिंसा विरुद्ध खोज पत्रकारिता आवश्यक

तालिमकी अध्यक्ष तथा उपाध्यक्ष भण्डारीले जानकारी गराएअनुसार, नेपालका सातवटै प्रदेशमध्ये कोशी प्रदेशमा तीन वर्षदेखि लगातार सबैभन्दा बढी लैङ्गिक हिंसाका घटना दर्ता भइरहेका छन्। यसकारण लैङ्गिक हिंसाका घटनाहरू उजागर गर्न खोज पत्रकारिता अपरिहार्य बनेको छ।

भण्डारीले भनिन्, "लैङ्गिक हिंसा समाजको गहिरो घाउ हो। यस्ता घटना सतहमा ल्याउन र पीडितलाई न्याय दिलाउन खोज पत्रकारिताको भूमिका महत्त्वपूर्ण हुन्छ।"

उनले महिला पत्रकारहरूलाई यस्ता संवेदनशील विषयमा सशक्त बनाउन तालिम आयोजना गरिएको बताइन्।

View : 32

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved