Biratnagar, Morang, Nepal
स्वास्थ

स्वास्थ्य सेवालाई प्रभावकारी र बिरामीमैत्री बनाउन मन्त्री लिम्बूको निर्देशन

२१ चैत २०८२, शनिवार

Advertisement

विराटनगर । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले ओखलढुङ्गाका स्वास्थ्य संस्थाहरूलाई आफ्नो सेवा प्रवाह थप प्रभावकारी, सहज र बिरामीमैत्री बनाउन निर्देशन दिएका छन्। शनिबार जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद केन्द्रको स्थलगत अनुगमन गर्दै मन्त्री लिम्बूले सरकारी स्वास्थ्य सेवाप्रति नागरिकको भरोसा जगाउने गरी काम गर्न आग्रह गरे।

​अनुगमनका क्रममा उनले स्वास्थ्य सेवाको गुणस्तर केवल कागजी प्रक्रियामा मात्र सीमित हुन नहुने बताए। "स्वास्थ्य संस्थामा आउने बिरामीले झन्झट होइन, राहत महसुस गर्नुपर्छ," मन्त्री लिम्बूले भने, "उपलब्ध जनशक्ति, औषधि र उपकरणको समुचित व्यवस्थापन गरी सेवालाई छिटो, छरितो र पारदर्शी बनाउनुहोस्।"

​अस्पतालको अवस्था र त्यहाँ देखिएका समस्या समाधानका लागि मन्त्री लिम्बूले विशेष चासो देखाएका छन्। समस्याहरूको पहिचान गरी आगामी वर्षको योजनामार्फत तिनलाई सम्बोधन गरिने उनले प्रतिबद्धता जनाए। मन्त्रीको निजी सचिवालयका सदस्य गिरीस साम्वाका अनुसार, अस्पतालको सुदृढीकरण र न्यूनतम सेवा मापदण्ड कार्यान्वयनका लागि मन्त्री आफैँ मैदानमा उत्रिएका हुन्।

​मन्त्री लिम्बूले आपतकालीन सेवालाई थप संवेदनशील बनाउन, प्रविधिको अधिकतम प्रयोग गर्न र स्वास्थ्यकर्मीहरूलाई बिरामीसँग सहानुभूतिपूर्ण व्यवहार गर्न समेत निर्देशन दिए। कमजोरीलाई दोषका रूपमा मात्र नलिन आग्रह गर्दै उनले त्यसलाई सुधारको अवसरका रूपमा लिएर अघि बढ्न सुझाएका छन्। सकारात्मक सोच र साना योजनाबीचको समन्वयले मात्रै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित हुने उनको विश्वास छ।

View : 29

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved