Biratnagar, Morang, Nepal
देश

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच आज टेलिफोन वार्ता हुदै

-
अखवारका कुरा
१ असोज २०८२, बिहिवार

Advertisement

काठमाडौं, असोज २।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै नेताबीचको संवादमा फागुनमा हुने निर्वाचनका लागि आवश्यक सहयोग, पुनर्निर्माण तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणका विषयमा चर्चा हुने अपेक्षा गरिएको छ।

यसअघि मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। सोही अवसरमा मोदीसँग टेलिफोन वार्ता गर्ने सहमति भएको बताइएको छ। भेटका क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्रीमा नियुक्त भएकोमा मोदीले पठाएको बधाई सन्देश पनि कार्कीलाई सुनाएका थिए।

प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउन भारत सदैव प्रतिबद्ध रहने उल्लेख गरेका छन्। मोदीले कार्कीको नेतृत्वमा नेपालले शान्ति, स्थिरता र समृद्धिको बाटोमा अग्रसर हुने विश्वास व्यक्त गरेका छन्।

“नेपाल हाम्रो नजिकको मित्र मात्र नभई साझा इतिहास र आस्थाले जोडिएको छिमेकी हो। नेपालमा लोकतान्त्रिक मूल्यलाई कठिन परिस्थितिमा पनि उच्च राखिएकोमा म सबै नेपालीलाई प्रशंसा गर्दछु,” मोदीले भनेका छन्।

नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा कार्कीको नियुक्तिलाई मोदीले महिला सशक्तिकरणको उत्कृष्ट उदाहरण भनेका छन्। उनले कार्कीको नेतृत्वमा नेपालले नयाँ चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गर्दै भारत पूर्ण रूपमा नेपालसँग सहकार्यमा रहने आश्वासन दिएका छन्।

गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनका प्रस्ताव अनुसार कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए। त्यसलगत्तै मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिँदै नेपालको शान्ति, प्रगति र समृद्धिप्रति भारतको निरन्तर प्रतिबद्धता दोहोर्याएका थिए।

भारतको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै कार्कीको नेतृत्वमा नेपालमा शान्ति र स्थिरता प्रवद्र्धन हुने विश्वास व्यक्त गरेको छ। विज्ञप्तिमा भारत र नेपाल दुवै देशका जनताका लागि दीर्घकालीन साझेदारी र समृद्धिको यात्रामा सहकार्य जारी रहने उल्लेख छ।

View : 22

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved