विराटनगर। लागुऔषधको लतमा फसेको जीवन अन्त्य होइन, सही साथ र अवसर पाए नयाँ सुरुवात सम्भव छ भन्ने सन्देशसहित विराटनगर जेसीजले तालिम सप्ताह २०२६ सुरु गरेको छ।
सप्ताहअन्तर्गत पहिलो कार्यक्रम ‘Re-Start Re-Build Rise’ शनिबार दुर्गा चौकस्थित नवज्योति पूर्वाञ्चल पुनःस्थापना केन्द्रमा सम्पन्न भयो। कार्यक्रममा लागुऔषधको प्रयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असर, पुनःस्थापनाको आवश्यकता र प्रभावित व्यक्तिलाई समाजमा पुनःस्थापित गराउने विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा मुख्य प्रशिक्षक विकल्प एन्ड अल्टरनेटिभका वसन्त अधिकारीले लागुऔषधको समस्यालाई केवल व्यक्तिको कमजोरीका रूपमा बुझ्न नहुने बताए। परिवार, समाज र समुदायले समयमै साथ र सही वातावरण दिन सके प्रभावित व्यक्तिले आफ्नो जीवनलाई पुनःनिर्माण गर्दै अघि बढ्न सक्ने उनको भनाइ थियो।
उनले युवालाई लागुऔषधबाट जोगाउन सचेतनामात्र पर्याप्त नभई उनीहरूलाई सकारात्मक गतिविधि, सिर्जनशीलता र अवसरसँग जोड्नुपर्नेमा जोड दिए।
कार्यक्रमका अध्यक्ष तथा विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले युवा पुस्तालाई लागुऔषधको जोखिमबाट जोगाउन जेसीजले सामाजिक सचेतनालाई प्राथमिकतामा राखेको बताए। लागुऔषधविरुद्धको अभियानलाई कुनै एक संस्था वा व्यक्तिको मात्र नभई परिवार, समाज र राज्य सबैको साझा जिम्मेवारीका रूपमा अघि बढाउनुपर्ने उनको धारणा थियो।
विराटनगर जेसीजका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष रञ्जन कुमार शाहीले युवालाई सही बाटोमा डोर्याउन समयमै सकारात्मक वातावरण र अवसर सिर्जना गर्नुपर्ने बताए। उनले लागुऔषधको समस्या समाधानका लागि सचेतना, परामर्श, पुनःस्थापना र सामाजिक पुनःएकीकरणलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए।
विराटनगर जेसीजका पूर्वअध्यक्षहरू सुरेशलाल श्रेष्ठ र सेवक बजगाईंले लागुऔषध नियन्त्रण र पुनःस्थापनाका लागि समाजको सोचमा परिवर्तन आवश्यक रहेको बताए। समस्यामा परेका व्यक्तिलाई घृणा वा बहिष्कार गर्नेभन्दा पनि सुधारका लागि अवसर र साथ दिनुपर्नेमा उनीहरूले जोड दिए।
कार्यक्रम आयोजना गरिएको नवज्योति पूर्वाञ्चल पुनःस्थापना केन्द्रका सञ्चालक सुशील रिजालले पुनःस्थापनापछि व्यक्तिलाई समाजमा फर्किन सहज वातावरण निर्माण गर्नु उत्तिकै महत्वपूर्ण रहेको बताए। परिवारको साथ, समाजको स्वीकार्यता र सकारात्मक वातावरणले पुनःस्थापनाको प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रमको संयोजन शिवराज पोखरेलले गरेका थिए।
विराटनगर जेसीजले सञ्चालन गरेको तालिम सप्ताहमा आगामी दिनमा व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि, सामाजिक उत्तरदायित्व तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाएको छ। तालिम सप्ताहलाई सफल बनाउन पूर्वअध्यक्षहरू, विराटनगर जेसीज बोर्ड, जुनियर जेसीज टिम तथा सम्पूर्ण सदस्यहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।
View : 27
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved