Biratnagar, Morang, Nepal
मनोरंजन

कान्समा नेपाली फिल्मले जित्यो ‘जुरी प्राइज’

-
अखवारका कुरा
९ जेठ २०८३, शनिवार

Advertisement

काठमाडौं । अविनाशविक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ जितेको छ ।
नेपाली फिल्मले विश्वप्रसिद्ध फेस्टिभलको मञ्चमा यो महत्वपूर्ण पुरस्कार जितेको हो । शाह निर्देशित छोटो फिल्म ‘लोरी’ले यसअघि पनि कान्समा स्पेसल मेन्सन पुरस्कार जितेको थियो ।
यस विधाको मुख्य ‘अन सर्टेन रिगार्ड प्राइज’ अस्ट्रियाली निर्देशक सान्द्रा वोल्नरको फिल्म ‘एभ्रिटाइम’ले जित्यो । ‘स्पेशल जुरी प्राइज’ फ्रान्सेली निर्देशक लुइस क्लिसीको फिल्म ‘आइरन ब्वाय’लाई प्रदान गरियो ।
उत्कृष्ट अभिनेतातर्फ ‘कंगो ब्वाय’का अभिनेता ब्राड्ली फियोमोना डेम्बेआसेट पुरस्कृत भए । उक्त फिल्मका निर्देशक राफिकी फारियाला हुन् ।
उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘सिएम्प्रे सोय तु एनिमल मातेर्नो’का कलाकार मरिना डे टाभिरा, डानिएला मारिन नाभारो र मारिएन्जेल भिलेगासलाई संयुक्त रूपमा प्रदान गरिएको हो । फिल्मको निर्देशन भालेन्टिना माउरेलले गरेकी हुन् ।
यसवर्षको कान्स फेस्टिभल आज सकिँदैछ र सोही क्रममा मुख्य विधाको विजेता समेत घोषणा हुनेछ ।

View : 35

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved