नेपाल विधार्थी संघ स्थापना दिवस
विराटनगर – नेपाल विद्यार्थी संघ (नेविसंघ)को स्थापना दिवसको अवसरमा बुधबार विराटनगरमा नेविसंघ मोरङले आयोजना गरेको 'वर्तमान राजनीतिमा विद्यार्थीको भूमिका' विषयक विचार गोष्ठीमा नेताहरूले देशको विकासको नेतृत्व विद्यार्थीले लिनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रमका सहभागी नेताहरूले नयाँ पुस्ता अर्थात् विद्यार्थीहरूले मुलुकको राजनीतिक नेतृत्वमा उभिनुपर्छ र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति नागरिकको विश्वास पुनः स्थापित गर्न भूमिका खेल्नु आवश्यक रहेको भनाइ ब्यक्त गरे ।
पूर्वमुख्यमन्त्री केदार कार्कीले विचार व्यक्त गर्दै भने, "विद्यार्थीहरू मुलुकका मेरुदण्ड हुन्, त्यसैले सरकारले आगामी वर्षको बजेटलाई विद्यार्थीमूलक बनाउनुपर्छ। मुलुकलाई शैक्षिक हब बनाउने योजनासमेत ल्याउन आवश्यक छ।" उनले थपे, "आजको अवस्थामा मुलुकको शासन व्यवस्थाप्रति नागरिकको निराशा र आक्रोश बढ्दो छ। त्यसैले आगामी बजेट, नीति र कार्यक्रमहरू नागरिकको विश्वास र आशा जगाउने गरी आउनुपर्छ।"
नेपाली कांग्रेसका केन्द्रीय सदस्य र पूर्वमन्त्री प्रदिपकुमार सुनुवारले "नेविसंघले विद्यार्थीहरूसँग निरन्तर सम्पर्क राख्दै, उनीहरूको राजनीतिक चेतना र शासन व्यवस्थाप्रति नागरिकमा देखिएको निराशा चिर्ने कार्य गर्नुपर्छ।" उनले अझ जोड्दै भने, "विद्यार्थीहरूले मात्र मुलुकको शैक्षिक प्रणालीलाई रूपान्तरण गरेर रोजगारीमुखी शैक्षिक प्रणालीको विकास गर्न सक्छन्।" भन्ने विचार ब्यक्त गरे ।
नेविसंघका पूर्वसभापति गुरुराज घिमिरेले भने "विद्यार्थी नेताहरूबाटै देशको परिवर्तन सम्भव छ। अन्य नेताबाट अपेक्षित परिवर्तन र विकास नहुँदा, विद्यार्थी नेताले नै देशको विकास र नेतृत्वको जिम्मेवारी उठाउनुपर्छ।"
कार्यक्रममा नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले पार्टीका कार्यक्रम विथोल्ने वा निषेध गर्ने गतिविधि गर्ने विद्यार्थी र नेताहरूसँग कडा कदम चाल्नुपर्ने बताए। उनले भने, "पार्टीको हित विपरित कार्य गर्ने व्यक्तिहरूलाई पार्टीमा कुनै स्थान छैन, त्यसैले उनीहरूको कारवाही गर्नुपर्छ र विद्यार्थीको भूमिका यसमा निर्णायक हुने छ।"
कार्यक्रम नेविसंघ मोरङका सभापति सरोज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो, जहाँ नेविसंघका पूर्वसभापति र स्ववियू निर्वाचनका विजयी पदाधिकारीहरूलाई सम्मान गरिएको थियो। काङ्ग्रेस केन्द्रीय सदस्य प्रदिपकुमार सुनुवारले कदरपत्र हस्तान्तरण गर्दै, उनीहरूलाई फूलमाला र दोसल्ला ओढाएर सम्मान गरेका थिए।
कार्यक्रम राख्नुका कारण बारे प्रष्ट पार्दै सभापति पोख्रेलले विधार्थीमा नयाँ उत्साह थप्न र नयाँ र पुराना विधार्थी नेता विच भावनात्मक सम्बन्ध विकास गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री प्रमिला गच्छदार, कांग्रेस कोशी प्रदेश सचेतक शोभा पालुङवा लगायत अन्य कांग्रेसी नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।
View : 114
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved