काठमाडौं । नेपालमा हरेक वर्ष हजारौँ बिरामीले रगतको आवश्यकता पर्ने भए पनि पर्याप्त रक्तदाता नहुँदा धेरैले समयमै रगत पाउन संघर्ष गर्नुपरेको अवस्था छ।
रगत अभावका कारण बिरामी र उनका परिवारले भोग्नुपरेको कठिनाइलाई अन्त्य गर्न नियमित रक्तदान संस्कृतिको विकास आवश्यक रहेको बताउँदै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एचका गभर्नर उद्वव सिलवालले युवाहरूलाई रक्तदान अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गरेका छन्।
३६ वर्षअघि सुरु भएको आफ्नो रक्तदान यात्रालाई निरन्तरता दिँदै हालसम्म ९७ पटक रक्तदान गरिसकेका सिलवालले नेपालमा रक्तदानसम्बन्धी जनचेतना बढे पनि नयाँ रक्तदातालाई अभियानमा जोड्न अझै चुनौती रहेको बताए।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले नियमित रक्तदानको महत्व, रगत अभावका कारण र रक्तदानसम्बन्धी समाजमा रहेका भ्रमबारे खुलेर धारणा राखे ।
उनले आफूले हालसम्म ९७ पटक रक्तदान गरिसकेको जानकारी दिँदै रक्तदान अभियानलाई जीवनको एउटा महत्वपूर्ण जिम्मेवारीका रूपमा लिएको बताए।
उनले भने, ‘मैले हालसम्म ९७ औँ पटक रक्तदान गरिसकेको छु। मेरो रक्तदान यात्रा २०४७ सालबाट सुरु भएको हो। त्यतिबेला म १९ वर्षको विद्यार्थी थिएँ। नेपाल विद्यार्थी संघले महामानव विश्वेश्वरप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा नेपाल कमर्स क्याम्पस मीनभवनमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। त्यही कार्यक्रमबाट मैले पहिलो पटक रक्तदान गरेको हुँ। त्यसयता निरन्तर रूपमा यो अभियानमा संलग्न छु।’
रक्तदानप्रति सानैदेखि सकारात्मक सोच भए पनि सुरुवाती दिनमा आफूमा पनि रक्तदान गरेपछि मानिस कमजोर हुन्छ भन्ने भ्रम रहेको उनले स्वीकार गरे।
उनले भने, ‘मेरो परिवारका सदस्यहरू रक्तदान गरेर आउनुभएको कुरा म सानो हुँदा सुन्थेँ। त्यसैले उमेर पुगेपछि रक्तदान गर्नुपर्छ भन्ने सोच आयो । तर रक्तदान गरेपछि कमजोर भइन्छ भन्ने डर पनि थियो। एक पटक रेयुकाईले आयोजना गरेको रक्तदान कार्यक्रममा म सहभागी हुन पुगेँ। त्यतिबेला मैले आयोजकलाई रक्तदान गरेपछि घरसम्म पु¥याउने व्यवस्था छ कि छैन भनेर सोधेको थिएँ। किनभने मलाई रक्तदान गरेपछि हिँड्न नसकिएला भन्ने लाग्थ्यो। पछि पहिलो पटक रक्तदान गरेपछि त्यो सबै भ्रम मात्र रहेछ भन्ने महसुस भयो।’
रक्तदान एकदमै सामान्य प्रक्रिया भएको उल्लेख गर्दै उनले जनमानसमा रहेका गलत धारणाहरू हटाउनुपर्ने बताए। सामान्य स्वास्थ्य भएको व्यक्तिले सजिलै रक्तदान गर्न सक्ने बताउँदै उनले रक्तदान गरेपछि शरीरलाई कुनै हानी नभई बरु त्यो रगतका कोषहरू त निश्चित समयपछि आफैँ नष्ट हुने स्पष्ट पारे ।
उनले भने, ‘रक्तदान गर्दा सुई लगाउँदा हुने सामान्य पीडाबाहेक अरू कुनै समस्या हुँदैन। धेरै मानिसहरूले रक्तदान गरेपछि शरीर कमजोर हुन्छ, काम गर्न सकिँदैन, स्वास्थ्य बिग्रिन्छ भन्ने सोच्छन्। तर त्यो बिल्कुलै गलत धारणा हो। सामान्य स्वास्थ्य भएको व्यक्तिले सजिलै रक्तदान गर्न सक्छ। रक्तदान गरेपछि शरीरलाई कुनै हानी हुँदैन। बरु त्यो रगतका कोषहरू त निश्चित समयपछि आफैँ नष्ट हुने हुन्। त्यसैले ती कोषहरूलाई खेर जान दिनुभन्दा कसैको जीवन बचाउन प्रयोग गर्नु उत्तम हुन्छ।’
सिलवालले नेपालमा रक्तदानसम्बन्धी जनचेतनामा उल्लेखनीय वृद्धि भए पनि नयाँ रक्तदाताहरू आकर्षित गर्न अझै चुनौती रहेको बताए। एक पटक रक्तदान गरिसकेको व्यक्ति पुनः रक्तदान गर्न सहजै तयार हुने भएपनि तर पहिलो पटक शिविरसम्म ल्याउनु चुनौतीपूर्ण रहेको उनको भनाई छ ।
उनले भने, ‘आजभन्दा ३५–३६ वर्षअघि बालकोट क्षेत्रमा रक्तदान शिविर आयोजना गर्दा गाउँभरि प्रचार गरेर मुस्किलले १८ पिन्ट रगत संकलन गर्न सफल भएका थियौँ। अहिले हरेक हप्ता जस्तै रक्तदान कार्यक्रम भइरहेका छन् र एउटै कार्यक्रममा १०० जनासम्म सहभागी हुने अवस्था बनेको छ। यो सकारात्मक परिवर्तन हो। तर अझै पनि पहिलो पटक रक्तदान गर्न मानिसलाई प्रेरित गर्न गाह्रो भइरहेको छ। एक पटक रक्तदान गरिसकेको व्यक्ति पुनः रक्तदान गर्न सहजै तयार हुन्छ, तर पहिलो पटक शिविरसम्म ल्याउनु चुनौतीपूर्ण छ।’
युवाहरूलाई लक्षित गर्दै उनले १८ वर्ष पुगेपछि रक्तदान सुरु गर्न आग्रह गरे। रक्तदानलाई जन्मदिनको एउटा विशेष कार्यका रूपमा लिन सकिने भन्दै १८ वर्ष पुगेपछि रक्तदान सुरु गर्ने संस्कार विकास गर्न सके देशमा रगतको अभाव धेरै हदसम्म अन्त्य हुन सक्ने विश्वास व्यक्त गरे ।
‘म सबै युवालाई १८ वर्ष पूरा भएलगत्तै रक्तदान अभियानमा जोडिन आग्रह गर्न चाहन्छु। मैले आफ्नै छोरालाई पनि १८ वर्ष पुगेको दिन रक्तदान केन्द्रमा लगेर पहिलो रक्तदान गराएको हुँ। रक्तदानलाई जन्मदिनको एउटा विशेष कार्यका रूपमा लिन सकिन्छ। १८ वर्ष पुगेपछि रक्तदान सुरु गर्ने संस्कार विकास गर्न सके देशमा रगतको अभाव धेरै हदसम्म अन्त्य हुन सक्छ,’उनले भने ।
रक्तदानले स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने उनको अनुभव छ। रक्तदान गरेपछि मानिसको शरीरमा कुनै नकारात्मक परिवर्तन नआउने भन्दै उनले त्यसैले रक्तदानलाई डरको दृष्टिले होइन, स्वास्थ्य र मानवताको दृष्टिले हेर्नुपर्नेमा जोड दिए ।
उनले थपे, ‘म अहिले ५५ वर्षको भइसकेँ। तर धेरै मानिसहरूले मेरो उमेर अनुमान गर्न सक्दैनन्। म प्रत्येक तीन–तीन महिनामा नियमित रक्तदान गर्छु। रक्तदानले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ भन्ने मेरो अनुभव छ। रक्तदान गरेपछि मानिस कमजोर हुँदैन। शरीरमा कुनै नकारात्मक परिवर्तन आउँदैन। त्यसैले रक्तदानलाई डरको दृष्टिले होइन, स्वास्थ्य र मानवताको दृष्टिले हेर्नुपर्छ।’
आधुनिक प्रविधिको विकाससँगै एउटा रक्तदानबाट धेरै व्यक्तिलाई लाभ पुग्न सक्ने अवस्था बनेको पनि उनले बताए। उनको अनुसार अहिले प्रविधिको विकाससँगै रगतलाई विभिन्न भागमा विभाजन गरेर तीन जनासम्म बिरामीलाई उपयोग गर्न सकिन्छ त्यसैले एउटा रक्तदानले तीन जनासम्मको जीवन बचाउन सक्ने सम्भावना हुन्छ ।
उनले भने, ‘पहिले हामीले दिएको एउटा युनिट रगत एउटा बिरामीलाई मात्र प्रयोग हुन्थ्यो। अहिले प्रविधिको विकाससँगै रगतलाई विभिन्न भागमा विभाजन गरेर तीन जनासम्म बिरामीलाई उपयोग गर्न सकिन्छ। त्यसैले एउटा रक्तदानले तीन जनासम्मको जीवन बचाउन सक्ने सम्भावना हुन्छ। जब म रक्तदान गर्न बस्छु, मलाई कसैको जीवन बचाउन योगदान गरिरहेको अनुभूति हुन्छ। यही भावनाले मलाई निरन्तर रक्तदान गर्न प्रेरित गरेको छ।’
नेपालमा अझै पनि रगतको अभाव किन भइरहन्छ भन्ने प्रश्नमा उनले माग र आपूर्तिबीचको असन्तुलन प्रमुख कारण रहेको बताए ।
उनले भने, ‘अस्पतालहरूमा रगतको माग दिनप्रतिदिन बढिरहेको छ। विभिन्न रोग, दुर्घटना, शल्यक्रिया र उपचारका क्रममा ठूलो मात्रामा रगत आवश्यक पर्छ। तर त्यसअनुसार रक्तदान हुन सकेको छैन। अर्को कुरा रगतलाई लामो समयसम्म भण्डारण गर्न सकिँदैन। समयमै प्रयोग नभए फाल्नुपर्ने अवस्था आउँछ। त्यसैले सधैँ पर्याप्त सञ्चिति राख्न चुनौती हुन्छ।’
चाडपर्व, खेलकुद प्रतियोगिता तथा विशेष अवसरहरूमा मानिसहरू आफ्नो व्यक्तिगत व्यस्ततामा केन्द्रित हुँदा रक्तदान घट्ने र रगतको आवश्यकता अझ धेरै हुने गरेको पनि उनले बताए।
उनले भने, ‘दशैँ, तिहार, विश्वकप जस्ता अवसरमा मानिसहरू आफ्नो व्यक्तिगत व्यस्ततामा केन्द्रित हुन्छन्। रातभर जाग्राम बस्ने, यात्रा गर्ने, रमाइलो गर्ने भएकाले रक्तदानमा कमी आउँछ। तर त्यही बेला अस्पतालहरूमा रगतको आवश्यकता भने कम हुँदैन। त्यसैले यस्ता समयमा अभाव झन् बढ्ने गरेको छ।’
कतिपय मानिसहरूले मैले रक्तदान गरेँ भने आवश्यक पर्दा गत पाउनैपर्छ भन्ने सोच राख्ने गरेको पाइएको भन्दै उनले रक्तदानलाई कारोबारको रूपमा नभई , सेवाको रूपमा बुझ्न आग्रह गरे ।
लायन्स क्लबको पहलमा सञ्चालन भइरहेको रक्तसञ्चार केन्द्रबारे बोल्दै उनले सरकारसँग समान सुविधा उपलब्ध गराउन माग गरे।
उनले भने, ‘नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गर्ने रक्तसञ्चार केन्द्रहरूले राज्यबाट विभिन्न सुविधा पाइरहेका छन्। हामीले पनि त्रिभुवन विश्वविद्यालय परिसरमा रक्तसञ्चार तथा अनुसन्धान केन्द्र सञ्चालन गरिरहेका छौँ। हामी पनि जनताको सेवामै लागेका छौँ। त्यसैले सरकारले रेडक्रसलाई दिने सुविधा अन्य रक्तसञ्चार संस्थाहरूलाई पनि उपलब्ध गराउनुपर्छ भन्ने माग हो।’
रक्तदान अभियानमा स्वयंसेवकहरूको योगदानको प्रशंसा गर्दै उनले भविष्यमा अझ धेरै युवाहरू अभियानमा जोडिने विश्वास व्यक्त गरे।
उनले भने, ‘आज हजारौँ स्वयंसेवकहरू दिनरात रगतको व्यवस्थापनमा खटिनुभएको छ। कसैलाई आकस्मिक रूपमा रगत चाहियो भने उनीहरूले तुरुन्तै सहयोग गरिरहनुभएको छ । यही कारणले धेरै मानिसहरूको जीवन बचाउन सम्भव भएको छ । अबको आवश्यकता भनेको अझ बढी युवाहरूलाई अभियानमा जोड्नु हो।’
उनले विश्व रक्तदाता दिवसको अवसरमा सबै नागरिकलाई नियमित रक्तदान गर्न आग्रह गरे ।
पुरुषहरूले तीन–तीन महिनामा र महिलाहरूले चार–चार महिनामा रक्तदान गर्न सक्ने उनको भनाई छ ।
हाम्रो शरीरमा नष्ट भएर जाने रक्तकोषलाई कसैको जीवन बचाउन प्रयोग गर्न सकिने भन्दै उनले त्यसैले रक्तदानलाई मानवताको सबैभन्दा ठूलो सेवामध्ये एक सेवाका रूपमा बुझ्न र नियमित रक्तदान गर्ने बानी बसाल्न सबैमा अपिल गरे ।
View : 18
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved