Biratnagar, Morang, Nepal
मनोरंजन

‘श्री बुकुरोः द होम कलिङ’ लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

-
अखवारका कुरा
२९ माघ २०८२, बिहिवार

Advertisement

काठमाडौं । फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को प्रिमियर गरिएको छ । बुधबार सिटी सेन्टरस्थित बिग मुभिजमा निर्माण टिमले प्रिमियरको आयोजना गरेका हुन् । प्रिमियर शोमा सिनेमा निर्देशक तुलसी घिमिरे, दीपकप्रसाद आचार्य, छविराज ओझा, जयकिशन बस्नेतसहित चलचित्र पत्रकार र सिनेमाको टिम उपस्थित थिए ।

सिनेमा हेरेपछि निर्देशक तुलसी घिमिरेले फिल्म समग्रमा हिपोक्रटिङ भन्दा पनि एउटा पेन्टिङजस्तो बनेको प्रतिक्रिया दिए । फिल्ममा मानवीय समवेदनाका स–साना पललाई रमाइलो तरिकाले प्रस्तुत गरेको भन्दै उनले सानोमा खोलामा खेल्ने फुपु र भदैको बुढेसकालमा भेट हुनु, लोभी मामाको क्यारेक्टरजस्ता विषयले मन छुने र वास्तविकजस्तो बनाउने उनले उल्लेख गरे ।

आवश्यकता अनुसार थप्पड लाउने र गाली पनि गर्ने आमालाई साथ दिने तीनैजना छोराहरूको भूमिका प्रशंसायोग्य रहेको उनको बुझाई थियो । यता, निर्माता तथा वितरक छविराज ओझाले पनि ‘श्री बुकुरो’ को उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् ।

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशनमा बनेको सिनेमा घरसँगै परिवार र समाजको कथामा बनेको छ । साथै पारिवारिक सम्बन्ध र प्रेम जीवनमा चिना नमिल्दाको अड्चनलगायतका विषय समेटिएको छ । सिनेमाको मुख्य भूमिकामा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरी छिन् । उनीसँगै आशीर्वाद बी क्षेत्री, निकिता आचार्य, रोशनी कार्की, उत्तम न्यौपाने, रामबाबु रेग्मी, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारले फिल्ममा अभिनय गरेका छन् ।

View : 32

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved