काठमाडौं । नेपालको डिजिटल भुक्तानी क्षेत्रमा काम गर्दै आएको आइमार्क प्रालि विश्व चर्चित फिनटेक सम्मेलन ग्लोबल फिनटेक फेस्ट (जीएफएफ) २०२६ को ‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा मनोनयनमा परेको छ ।
भारतको मुम्बईमा सेप्टेम्बर ८ देखि ११ गतेसम्म हुने जीएफएफमा विश्वभरका बैंक, वित्तीय संस्था, केन्द्रीय बैंक, नियामक, फिनटेक कम्पनी, स्टार्टअप तथा प्रविधि क्षेत्रका प्रतिनिधि सहभागी हुनेछन् ।
‘बेस्ट पेमेन्ट्स सोलुसन’ विधामा आइमार्कसँगै क्याम्सपे, बैंक अफ इन्डिया, स्प्रिन्टपीजीएक्स र इन्भ्वाइसमार्ट लगायतका कम्पनी सर्टलिस्टमा परेका छन् । गत वर्ष यो अवार्ड भारतीय डिजिटल भुक्तानी कम्पनी पेटिएमले पाएको थियो ।
नेपाली कम्पनी अन्तर्राष्ट्रिय फिनटेक अवार्डको महत्वपूर्ण विधामा छनोट हुनु नेपालको डिजिटल भुक्तानी क्षेत्रका लागि उपलब्धिका रूपमा हेरिएको छ ।
यस वर्षको जीएफएफको मुख्य विषय ‘पोटेन्सियल टु इम्प्याक्ट’ रहेको छ । सम्मेलनमा एजेन्टिक एआई, टोकनाइजेसन र क्वान्टम प्रविधिका साथै डिजिटल भुक्तानी, वित्तीय समावेशीकरण, जोखिम व्यवस्थापन, डेटा र डिजिटल रूपान्तरणबारे छलफल हुनेछ ।
आयोजकका अनुसार जीएफएफमा एक लाखभन्दा बढी सहभागी, पाँच हजारभन्दा बढी संस्था, चार हजार पाँच सयभन्दा बढी स्टार्टअप र एक हजारभन्दा बढी वक्ता सहभागी हुने अपेक्षा गरिएको छ । सम्मेलनमा ८० भन्दा बढी देशका प्रतिनिधि र ८० भन्दा बढी नियामकको सहभागिता रहनेछ ।
ग्राहक केन्द्रित सेवामा जोड
आइमार्कले सुरक्षित, भरपर्दो र नवीन डिजिटल भुक्तानी समाधान विकास गर्दै आएको जनाएको छ । कम्पनीले ग्राहककेन्द्रितता, चुस्तता, उत्कृष्टता, सहकार्य, पारदर्शिता र निरन्तर सुधारलाई आफ्नो कार्यसंस्कृतिको आधार बनाएको छ ।
कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रामप्रसाद ढुङ्गानाले टोलीको मेहनत तथा ग्राहक र साझेदारको विश्वासका कारण अन्तर्राष्ट्रिय फिनटेक मञ्चमा नेपालको प्रतिनिधित्व गर्न सफल भएको बताए ।
आइमार्कको मनोनयनले नेपाली डिजिटल भुक्तानी प्रविधि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुग्न थालेको देखाएको छ । यसले नेपालमा विकास भइरहेका भुक्तानी प्रविधि र डिजिटल सेवाको सम्भावनालाई विश्व फिनटेक क्षेत्रमा चिनाउने अवसरसमेत दिएको छ ।
View : 23
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved