विराटनगर । दोस्रो नेपाल ग्रासरुट छात्रा क्रिकेट महोत्सव २०८३ विराटनगर -६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न भएको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा भएको उक्त महोत्सव ग्रासरुट स्तरमा महिला क्रिकेटको प्रवद्र्धन गर्ने उद्देश्यसहित सम्पन्न गरिएको हो ।
महोत्सवमा मेरिलेबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथाउट बाउण्ड्रीजको सहकार्य तथा मोरङ जिल्ला क्रिकेट संघको सहयोग र कोशी प्रदेश क्रिकेट संघको प्रवद्र्धन रहेको थियो ।
आयोजकका अनुसार कोशी र मधेश प्रदेशका विभिन्न हबबाट खेलाडी सहभागी गराई बालिकाहरूमाझ क्रिकेटप्रतिको आकर्षण बढाउने र आपसी सिकाइको अवसर सिर्जना गर्ने उद्देश्य राखिएको थियो ।
नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले महोत्सवले ग्रासरुट स्तरको महिला क्रिकेट विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
महोत्सवमा कोशी प्रदेशका विराटनगर, सुनसरी (टरहरा), उदयपुर, पथरी र इलाम तथा मधेश प्रदेशका सिरहा र राजविराजसहित ७ वटा हबबाट ६३ जना बालिकाको सहभागिता रहेको थियो ।
कार्यक्रमअन्तर्गत ८ ओभरको सफ्ट बल क्रिकेटमा ११ वटा खेलहरू बिहानदेखि दिउँसोसम्म सञ्चालन गरिएको थियो । सहभागी टोलीहरूले एकअर्कासँग खेल्ने अवसर पाएका थिए ।
प्रतियोगितात्मक रूपमा कुनै स्थान निर्धारण नगरिएको आयोजकले जनाएको छ । महोत्सवलाई प्रतिस्पर्धाभन्दा पनि क्रिकेटको उत्सवका रूपमा मनाउने र बालिकाहरूलाई खेलमा सक्रिय बनाउन केन्द्रित गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
View : 37
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved