विराटनगर — कोशी प्रदेशमा आधुनिक खेलकुद पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित पाँच करोड रुपैयाँको लगानीमा विकसित गरिएको विराट स्पोर्ट्स जोन यहि मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। ३० कट्ठा क्षेत्रफलमा तयार गरिएको यो संरचना प्रदेशको खेलकुद क्षेत्रलाई नयाँ दिशामा अघि बढाउनेगरी निर्माण गरिएको व्यवस्थापनले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
अध्यक्ष हरि बजगाई, सचिव नवराज काफ्ले, कोषाध्यक्ष राज ढकाल तथा सदस्य अम्बिका अधिकारी, धड्कन कट्टेल र रेखा उप्रेतीको नेतृत्वमा स्पोर्ट्स जोनलाई सुरक्षित, सुव्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको खेलकुद केन्द्रका रूपमा विस्तार गर्ने काम अघि बढाइएको छ।
नेपालकै व्यवस्थित र ठूलो क्रिकेट एकेडेमी मुख्य आकर्षण
विराट स्पोर्ट्स जोनको मुख्य आकर्षण अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको क्रिकेट एकेडेमी हो।
यस एकेडेमीमा राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीसहित अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन्।
बहु–पिच सुविधा, अत्याधुनिक उपकरण र व्यवस्थित तालिम संरचनासहित यो एकेडेमीले प्रदेशमा क्रिकेट प्रतिभा विकासलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
पूर्वाञ्चलमै पहिलोपटक गो–कार्ट सेवा
स्पोर्ट्स जोनले पूर्वाञ्चलमै पहिलोपटक गो–कार्ट ट्र्याक सञ्चालनमा ल्याउँदैछ, जुन सबै उमेरका खेलकुद तथा रोमाञ्च–प्रेमीका लागि आकर्षक केन्द्र बन्ने अनुमान गरिएको छ।
आधुनिक सुरक्षा मापदण्ड, व्यवस्थित ट्र्याक र सुरक्षात्मक उपकरणसहित यो सेवा प्रदेशकै नयाँ अनुभवको रूपमा प्रस्तुत गरिएको छ।
अन्य खेल तथा प्रशिक्षण गतिविधि
फुटसल, क्रीकसल, स्केटिङ, ब्याडमिन्टन, पिकल बल र टेबल टेनिस यहाँकाे अन्य आकर्षण हुन्।
त्यस्तै फुटबल तथा तेक्वान्दो प्रशिक्षण कार्यक्रम पनि अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा सञ्चालन हुनेछन्।
२५ भन्दा बढी कर्मचारी परिचालनसहित खेलप्रेमीलाई सहज सेवा उपलब्ध गराउने तयारी पूरा भएको व्यवस्थापनले जनाएको छ।
१००% शाकाहारी क्याफे
खेलमैत्री र स्वास्थ्यअनुकूल वातावरण निर्माण गर्ने उद्देश्यले स्पोर्ट्स जोनभित्र १००% VEG क्याफे सञ्चालनमा ल्याइएको छ।
दीर्घकालीन योजना
आगामी चरणमा स्वीमिङ पुल, इन्डोर गेमिङ जोन र अन्य आधुनिक खेल संरचना थप गर्दै स्पोर्ट्स जोनलाई प्रदेशकै सबभन्दा ठूलो समग्र खेल केन्द्रका रूपमा विस्तार गर्ने योजनासमेत सार्वजनिक गरिएको छ।
मंसिर २७ गते उक्त खेलकुद जोनको उद्घाटन गरिने भएको छ ।
View : 132
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved