Biratnagar, Morang, Nepal
स्वास्थ

स्वदेशमै सलाइन उत्पादन: स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरताको नयाँ अध्याय

-
अखवारका कुरा
२८ चैत २०८२, शनिवार

Advertisement

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ मा एक अर्ब रुपैयाँभन्दा बढीको लगानीमा स्थापित ‘एलेक्सा लाइफसाइन्सेज’ सलाइन उत्पादन उद्योग सञ्चालनमा आएको छ। स्वदेशमै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सलाइन उत्पादन सुरु भएसँगै नेपालको स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता तर्फको महत्वपूर्ण पाइला चालिएको छ।
उद्योगको औपचारिक उद्घाटन शुक्रबार वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइराला ले एक विशेष समारोहबीच गरेका हुन्। उद्घाटनका क्रममा उनले स्वदेशमै औषधि उत्पादन हुनु राष्ट्रका लागि गौरवको विषय भएको उल्लेख गर्दै गुणस्तरमा कुनै सम्झौता नगरी निरन्तरता दिन सके यसले देशलाई ठूलो योगदान पुग्ने बताए।
स्वदेशी लगानीमै स्थापना गरिएको यस उद्योगले केही समयअघि देखि नै बजारमा सलाइन आपूर्ति सुरु गरिसकेको छ। उद्योगीद्वय दिनेश ठाकुर र रञ्जित भगतले करिब पाँच वर्षको अध्ययन र तयारीपछि जर्मन प्रविधिमा आधारित अत्याधुनिक मेसिन प्रयोग गरी उत्पादन सुरु गरेका हुन्। सञ्चालकहरूका अनुसार उद्योगले अन्तर्राष्ट्रिय स्तरअनुसार ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ अन्तर्गत १०० एमएलदेखि ३ हजार एमएलसम्मका सलाइन उत्पादन गरिरहेको छ।
उद्योगले आगामी चरणहरूमा ‘स्मल भोल्युम प्यारेन्टरल्स’ (१ देखि २० एमएल) तथा आँखा र कानमा प्रयोग हुने औषधि उत्पादन गर्ने योजना अघि सारेको छ। दीर्घकालीन रूपमा औषधि निर्यात गर्ने लक्ष्य समेत लिइएको छ।
निर्देशक दिनेश ठाकुरका अनुसार उद्योगको मुख्य उद्देश्य सहज मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनु र आयातमा निर्भरता घटाउनु हो। तर सलाइन उत्पादनको लागत उच्च र बजार मूल्य समायोजन नहुँदा हाल घाटा सहेरै उत्पादन गर्नुपरेको उनले बताए। उनले स्वदेशी औषधि उद्योग संरक्षणका लागि सरकारबाट नीतिगत सुधार र सहुलियत आवश्यक रहेको धारणा राखे।
हाल उद्योगले करिब १५० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। दक्ष जनशक्ति र आधुनिक व्यवस्थापन प्रणालीसहित सञ्चालनमा आएको यस उद्योगले भविष्यमा थप रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।
नेपालको औषधि बजारमा विदेशी कम्पनीहरूको प्रभुत्व कायम रहेको अवस्थामा स्वदेशमै सलाइन उत्पादन सुरु हुनु औद्योगिक र स्वास्थ्य दुवै क्षेत्रमा सकारात्मक संकेतका रूपमा हेरिएको छ। आयात प्रतिस्थापनसँगै आर्थिक सुदृढीकरणमा समेत यसले टेवा पुर्‍याउने विश्वास गरिएको छ।

View : 43

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved