Biratnagar, Morang, Nepal
स्वास्थ

नर्सले बिरामीको पीडा बुझ्नुपर्छ र भावनात्मक सम्बन्ध राख्नुपर्छ

-
अखवारका कुरा
२९ वैशाख २०८३, मङ्गलवार

Advertisement

काठमाडौं । काठमाडौं क्यान्सर सेन्टरकी म्याट्रोन (नर्स प्रमुख) निस्ता खत्रीले नर्सिङ पेशामा सफल हुनका लागि आवश्यक प्रमुख गुणहरू सेवाभाव, धैर्यता र मानवीय संवेदनशीलता भएको बताएकी छन्।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले नर्स भनेको केवल उपचारमा सहयोग गर्ने व्यक्ति मात्र नभई बिरामीको पीडा बुझ्ने र भावनात्मक रूपमा साथ दिने व्यक्ति हुनुपर्ने धारणा राखिन् ।
उनका अनुसार नर्समा सबैभन्दा पहिले बिरामीको पीडा बुझ्ने क्षमता हुनुपर्छ । बिरामीको समस्या के हो भनेर पहिला बुझ्न सक्ने हुनुपर्छ ।
उनले नर्सको बोली र व्यवहार नरम, शान्त र सुमधुर हुनुपर्ने उनले जोड दिइन्। झर्किने वा कठोर व्यवहारले बिरामी झन् डराउने र असहज हुने उनको भनाइ छ ।
खत्रीले नर्स र बिरामीबीच विश्वासपूर्ण सम्बन्ध आवश्यक हुने बताइन्।
‘बिरामी बाहिरका मान्छेसँग खुलेर कुरा गर्न सक्दैनन्, त्यसैले नर्सले उनीहरूसँग गहिरो विश्वासको सम्बन्ध बनाउनुपर्छ,’ उनले भनिन्।
बिरामीलाई आफ्नै मान्छे जस्तो व्यवहार गर्न सक्दा मात्र उनीहरू खुलेर समस्या बताउन सक्ने उनको अनुभव छ ।
उनका अनुसार नर्समा जिम्मेवारीबोध अत्यन्त महत्वपूर्ण हुन्छ । ‘कुन डिपार्टमेन्टमा के भूमिका हो भन्ने स्पष्ट ज्ञान हुनुपर्छ,’ उनले भनिन्। ्
साथै नबुझेको कुरा लाज नमानी सिनियरसँग सोध्ने बानी पनि नर्सको गुण भएको उनको भनाइ छ ।
खत्रीले नर्सलाई कन्फिडेन्ट र इमर्जेन्सी अवस्था सम्हाल्न सक्ने हुनुपर्ने बताइन् । उनले भनिन्‘बिरामीको अवस्था कहिले राम्रो हुन्छ, कहिले गम्भीर हुन्छ । यस्तो अवस्थामा नआत्तिएर जिम्मेवारीपूर्वक काम गर्न सक्ने क्षमता चाहिन्छ ।’

उनका अनुसार नर्सिङ शिक्षा नै व्यवहारिक र सेवामूलक हुन्छ । तीन वर्षको अध्ययन र हस्पिटल पोस्टिङका क्रममा विद्यार्थीहरूले प्रत्यक्ष बिरामीसँग काम गर्ने भएकाले पेशाप्रति गहिरो समझदारी विकास हुने गर्छ ।
नर्स र बिरामीको सम्बन्ध केवल पेशागत मात्र नभई परिवारजस्तै भएको बताइन् । उनले भनिन्,‘हाम्रो सम्बन्ध बिरामीसँग केवल पेशागत होइन, भावनात्मक पनि हुन्छ । डिस्चार्ज भएपछि पनि बिरामीहरू भेट्न आउने गर्छन् ।’
यसले नर्सिङ पेशामा आत्मीयता र विश्वासको गहिरो सम्बन्ध रहने उनको भनाइ छ। उनले सम्पूर्ण नर्सहरूलाई सेवाभाव, धैर्यता र जिम्मेवारीका साथ काम गर्न आग्रह गर्दै नर्सिङ पेशा मानव सेवाको सबैभन्दा सम्मानित पेशा भएको बताइन् ।

View : 4

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved