एजेन्सी । रुस र युक्रेनले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म एकअर्काविरुद्ध व्यापक आक्रमणहरू गरेको जानकारी दिएका छन् ।
रुसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत विगत २४ घण्टामा आफ्ना सेनाले युक्रेनी सेनाको इन्धन, ऊर्जा तथा यातायात पूर्वाधारका साथै लामो दूरीका ड्रोन उत्पादन र भण्डारण केन्द्रहरू गरी १४२ स्थानमा आक्रमण गरेको जनाएको छ।
मन्त्रालयका अनुसार रुसी सेनाले युक्रेनी सैनिक र विदेशी भाडाका लडाकुहरूको अस्थायी तैनाथी स्थलहरूलाई पनि निशाना बनाएको छ। साथै, खार्किभ क्षेत्रमा थप चार बस्तीहरू आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको छ।
उता, युक्रेनको सशस्त्र बलको जनरल स्टाफले शुक्रबारदेखि शनिबारसम्म २६८ वटा युद्ध भिडन्त भएको जनाएको छ।
जनरल स्टाफका अनुसार विगत २४ घण्टामा युक्रेनी सेनाले रुसका तीनवटा कमाण्ड पोस्ट, पाँचवटा ड्रोन नियन्त्रण केन्द्र तथा अन्य सैन्य लक्ष्यहरूमा आक्रमण गरेको छ।
साथै, रुसी पक्षबाट प्रहार गरिएका दुईवटा मिसाइल र १७ वटा ड्रोनले १६ स्थानलाई निशाना बनाएको उल्लेख गरिएको छ।
युक्रेनी रक्षा बलले शनिबार बिहान सबेरै आजोभ सागरको आकाशमा रहेको एउटा रुसी सैन्य हेलिकोप्टरलाई निशाना बनाएको तथा लुहान्स्क क्षेत्रमा सिभेस्र्की दोनेत्स नदीमाथिको रेल पुलमा पनि आक्रमण गरेको जनरल स्टाफले जनाएको छ।(सीसीटीभीप्लस)
View : 17
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved