विराटनगर- पूर्वी नेपालमा लायन्स आन्दोलनलाई संस्थागत रूपमा बलियो बनाउँदै आएका लायन उदय नारायण बराल (MJF) पछिल्लो दशकमा निरन्तर सक्रिय र प्रभावशाली नेतृत्वका रूपमा उदाएका छन्। धनकुटामा जन्मिएका बरालले विराटनगरलाई कर्मथलो बनाएर सामाजिक सेवा र नेतृत्व विकासका क्षेत्रमा उल्लेखनीय छाप छोडेका छन्।
सन् २०१४/१५ मा Lions Club of Biratnagar Gurans बाट सदस्यता लिँदै लायन्स यात्रामा प्रवेश गरेका उनले छोटो समयमै क्लबभित्र नेतृत्वदायी भूमिका सम्हाले। सन् २०१७/१८ मा क्लब अध्यक्ष बनेका बरालले त्यसयता प्रमुख सल्लाहकार र LEO क्लब सल्लाहकारका रूपमा निरन्तर मार्गदर्शन गरिरहेका छन्।
जिल्ला तहमा पनि उनको सक्रियता उत्तिकै देखिन्छ। जोन चेयरपर्सनदेखि एरिया कोअर्डिनेटर, टिम एरिया लिडर हुँदै जीएमटी र जीएसटी डिस्ट्रिक्ट कोअर्डिनेटरसम्मका जिम्मेवारी सम्हालेका बराल हाल जिल्ला ३२५ सी का प्रमुख जिल्ला सल्लाहकार हुन्। उनले सन् २०२४/२५ मा क्याबिनेट सेक्रेटरीको जिम्मेवारी समेत निर्वाह गरेका थिए।
लायन्स अन्तर्राष्ट्रिय संरचनाभित्र उनको योगदान उच्च रूपमा मूल्यांकन भएको छ। Lions Clubs International बाट प्रदान गरिने ‘Membership Rock Star Award 2024/25’ प्राप्त गर्दै उनी विश्वकै उत्कृष्ट स्पोन्सरमध्ये पर्न सफल भएका छन्। यसबाहेक अन्तर्राष्ट्रिय अध्यक्ष पदक, अन्तर्राष्ट्रिय नेतृत्व पदकलगायतका सम्मानले उनको नेतृत्व क्षमतालाई पुष्टि गर्छ।
बरालले अन्तर्राष्ट्रिय सम्मेलन, ISAAME फोरम तथा विभिन्न प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउँदै अनुभव सँगालेका छन्। भारत, बंगलादेश, श्रीलंका, भुटान, चीन, थाइल्याण्ड र भियतनामसम्मको भ्रमणले उनको दृष्टि अझ फराकिलो बनाएको सहकर्मीहरू बताउँछन्।
व्यवसायिक रूपमा उनी गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष हुन् भने गुराँस हर्बास्युटिकल्स प्रालि सञ्चालनमा पनि अग्रसर छन्। सहकारी क्षेत्रमा तिरुमला सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ स्थापना गर्दै उनले स्थानीय आर्थिक गतिविधिमा समेत योगदान दिएका छन्।
स्नातकोत्तर तहसम्म अध्ययन गरेका बराल पारिवारिक रूपमा श्रीमती रीता अधिकारी, छोरी रियुषा र छोरा अर्जनसहित बसोबास गर्दै आएका छन्।
लायन्समार्फत सामाजिक सेवा, नेतृत्व विकास र संस्थागत सुदृढीकरणमा उनले देखाएको निरन्तरता र प्रतिबद्धता पूर्वी नेपालको लायन्स आन्दोलनका लागि महत्वपूर्ण आधारका रूपमा हेरिएको छ।
View : 70
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved