Biratnagar, Morang, Nepal
खेलकुद

चर्च ब्वाइजको जितमा समीर नायक, विराट स्पोर्ट्स जोनद्वारा ११ हजार बराबरको पुरस्कार प्रदान

-
अखवारका कुरा
२९ चैत २०८२, आइतवार

Advertisement

विराटनगर -  विराट गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति शहीद रङ्गशालामा भएको क्वार्टरफाइनलमा एपीएफ क्लबलाई १–० ले पराजित गर्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको २७ औँ मिनेटमा आशिष सोनामको सटिक क्रसलाई समीर तामाङले आकर्षक फिनिसिङ गर्दै निर्णायक गोल गरेका थिए ।

उत्कृष्ट प्रदर्शन गरेका समीर ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई विराट स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईंले ११ हजार बराबरको पुरस्कार  प्रदान गरे ।

विराट स्पोर्ट्स जोनले प्रतियोगिताभर खेलप्रति खेलाडी र दर्शक दुवैको भावना अझ प्रबल बनाउन विभिन्न अफरहरूसमेत घोषणा गरेको छ ।

पुरस्कार वितरणपछि अध्यक्ष बजगाईंले खेलाडीको मेहनतलाई सम्मान गर्दै उनीहरूको मनोबल बढाउनु आफ्नो संस्थागत उद्देश्य रहेको बताए ।

“खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्न पाउनु हाम्रो जिम्मेवारी हो । यस्ता प्रतियोगिताले नेपाली फुटबललाई अझ सशक्त बनाउन मद्दत गर्छन्,” उनले भने ।

प्रतिस्पर्धात्मक खेलमा एपीएफले दोस्रो हाफमा लगातार दबाब बनाए पनि गोल फर्काउन सकेन । चर्च ब्वाइजका गोलरक्षक दीप कार्कीले केही उत्कृष्ट बचाउ गरेका थिए ।

यस जितसँगै चर्च ब्वाइज उपाधि दाबेदारीमा अघि बढेको छ भने विराट स्पोर्ट्स जोनको सक्रिय प्रायोजनले प्रतियोगितालाई थप आकर्षक, प्रतिस्पर्धात्मक र दर्शकमैत्री बनाएको आयोजकको भनाइ छ ।

View : 63

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved