काठमाडौं । नेपालमा आज २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित दिवस मनाउन लागिएको हो ।
राष्ट्रिय धान दिवसको अवसरमा सरकारले आज खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा विशेष समारोहका बीच धान रोपाई कार्यक्रम गरी यो दिवस मनाउन लागेको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार धान नेपालको खाद्य सुरक्षा, अर्थतन्त्र र किसानको जीविकोपार्जनसँग प्रत्यक्ष जोडिएको प्रमुख बाली हो । देशका करिब २७ लाख ६५ हजार कृषक परिवार धान खेतीमा आबद्ध छन् भने कुल खेतीयोग्य जमिनको ५४ प्रतिशतमा धान खेती हुने गरेको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा खेती गरी ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । यद्यपि देशलाई वार्षिक करिब ७० लाख मेट्रिक टन धान आवश्यक पर्ने भएकाले अझै करिब १० लाख मेट्रिक टन धान अपुग हुने अवस्था रहेको मन्त्रालयले जनाएको छ ।
जलवायु परिवर्तनका कारण बढ्दो सुख्खा, बाढी तथा अन्य प्राकृतिक विपद्ले धान उत्पादनमा चुनौती थपिएकाले जलवायुमैत्री प्रविधि, उन्नत तथा जलवायु सहनशील जातको विकास र आधुनिक खेती प्रणालीलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।
View : 22
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved