दुहबी, सुनसरी । सुनसरीको दुहबी–३ स्थित विद्या संस्कार एकेडेमीले दसैँको सांस्कृतिक महत्त्व र नेपाली मौलिक परम्परालाई केन्द्रमा राख्दै ‘विद्या संस्कार दसैँ उत्सव–२०८३’ सम्पन्न गरेको छ। शुक्रबार आयोजित उत्सवमा विद्यार्थीहरूले गायन, वाद्यवादन, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुहबी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विकास घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपेश राउत, पूर्व राष्ट्रिय फुटबल खेलाडी सन्दीप राई, दुहबी नगर प्याब्सनका अध्यक्ष, सचिव तथा अन्य पदाधिकारी, विभिन्न विद्यालयका प्रधानाध्यापक र सञ्चारकर्मीहरूको उपस्थिति थियो।
उत्सवमा विद्यालयको म्युजिक क्लबमा आबद्ध विद्यार्थीहरूले दसैँसँग सम्बन्धित गीत तथा सांगीतिक धुन प्रस्तुत गरेका थिए। डान्स क्लबका विद्यार्थीहरूले नेपाली मौलिक संस्कृति झल्काउने गीतमा नृत्य प्रस्तुत गर्दै दर्शकको ध्यान आकर्षित गरे। साना विद्यार्थीहरूले आफैँ विभिन्न वाद्ययन्त्र बजाउँदै दसैँ गीत गाएको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा नवदुर्गाका नौ स्वरूपमा आधारित नृत्य प्रस्तुत गरिएको थियो। साना विद्यार्थीहरूले देवी दुर्गाका नौ स्वरूपलाई कलात्मक रूपमा प्रस्तुत गर्दै दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्व उजागर गरेका थिए। यस्ता प्रस्तुतिले विद्यार्थीलाई नेपाली चाडपर्व, परम्परा र संस्कृतिबारे व्यावहारिक रूपमा परिचित गराउने विश्वास विद्यालयले लिएको छ।
कार्यक्रमका प्रमुख अतिथि विकास घिमिरेले विद्या संस्कार एकेडेमीले आफ्नो नामअनुसार विद्यार्थीहरूमा संस्कार र सीप विकास गर्न उल्लेखनीय प्रयास गरेको बताए। विद्यालयले अतिरिक्त क्रियाकलापसँगै अन्य शैक्षिक गतिविधिमा समेत राम्रो काम गरिरहेको उल्लेख गर्दै उनले विद्यालयको थप प्रगति र शैक्षिक उन्नयनको शुभकामना व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक दिपेश राउतले विद्यार्थीलाई चाडपर्वको सामाजिक तथा सांस्कृतिक महत्त्व बुझाउने र नेपाली मौलिक परम्परासँग नजिक बनाउने उद्देश्यले उत्सव आयोजना गरिएको जानकारी दिए। शिक्षा कक्षाकोठा र पाठ्यपुस्तकमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले गायन, वाद्यवादन र नृत्यजस्ता गतिविधिले विद्यार्थीको सिर्जनशीलता, आत्मविश्वास, अनुशासन तथा सहकार्यको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीलाई सार्वजनिक रूपमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनुका साथै उनीहरूको व्यावहारिक सीप र व्यक्तित्व विकासमा समेत सहयोग पुर्याउँछन्।
विद्यालयले आयोजना गरेको यस उत्सवले अध्ययनसँगै कला, संस्कृति र सिर्जनात्मक गतिविधिलाई पनि शैक्षिक प्रक्रियाको महत्त्वपूर्ण हिस्सा बनाउनुपर्ने सन्देश दिएको छ। विद्यार्थीको प्रतिभा प्रस्फुटन, सांस्कृतिक चेतनाको विकास र सामूहिक सहभागितालाई प्राथमिकता दिँदै सम्पन्न उत्सवले विद्यालयमा सिकाइका विविध अवसर विस्तार गर्ने प्रयासलाई थप उजागर गरेको छ ।
View : 41
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved