विराटनगर - इष्टर्न कलेजले आयोजना गरेको खेलकुद सप्ताह-२०८२ सम्पन्न भएको छ। ‘खेलौं र स्वस्थ रहौं’ भन्ने नारासहित फागुन ८ गतेदेखि सुरु भएको ‘स्पोर्ट्स मिट-२०८२’ फागुन १५ गते समापन गरिएको कलेजले जनाएको छ।
समापन समारोहमा नेपाल नागरिक उड्डयन प्राधिकरण, विराटनगरका डाइरेक्टर सुवास झा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। पूर्व मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष मोहम्मद साद बाबु, कोशी प्रदेश फुटबल संघका सदस्य ध्रुव सिग्देल तथा विराट गोल्डकप ट्रस्टका महासचिव विनेश बस्नेत विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमका संयोजक विशाल विश्वकर्माले साताव्यापी खेलकुद गतिविधिमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको बताए। सह–संयोजक निहाल काफ्लेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। प्रमुख अतिथि झाले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र सहकार्य भावना विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
कलेजका प्राचार्य ई. अमित सुरानाले सफल आयोजनाका लागि विद्यार्थी, शिक्षक तथा आयोजक टोलीलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
सप्ताहभर फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, चेस, हाजिरीजवाफ, डोरी तान तथा म्युजिकल चेयरलगायतका प्रतियोगिता सञ्चालन गरिएका थिए। विजेता तथा उपविजेतालाई समापन समारोहमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको कलेजले जनाएको छ।
View : 93
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved