काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा आयोजना हुने भएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने प्रदर्शनीको शीर्ष प्रायोजकमा एचपी लुब्रिकेन्ट्स रहेको छ ।
नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको अटो शोलाई ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो ।
छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालको तीव्र रूपमा विकास भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ प्रविधि, सवारीसाधन, उत्पादन तथा सेवाहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । नाडा अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीका अनुसार अटो शोले चाडपर्वको भाइब्स सिर्जना गर्छ । ‘अटो शोको आफ्नै महत्व, इतिहास र गरिमा छ । चाडपर्वको भाइब्स सिर्जना गर्छ र अर्थतन्त्रलाई चलायमान बनाउँछ,’ उनले भने ।
करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । प्रदर्शनीमा २३ वटा ब्रान्डका प्यासेन्जर कार भेहिकल, १७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल र १३ वटा ब्रान्डका दुईपांग्रे सवारीसाधन सहभागी हुनेछन् ।
त्यस्तै, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका कम्पनी तथा उत्पादनहरू प्रदर्शनमा रहनेछन् ।
प्रदर्शनीमा नेपालमै एसेम्बल हुने सवारीसाधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल सामग्रीसमेत प्रदर्शन गरिनेछ । ‘मेड इन नेपाल÷मेड फर नेपाल’ पभिलियनमार्फत स्वदेशमै उत्पादित सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी सामग्रीलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ ।
यस वर्षको अटो शोको प्रमुख आकर्षणका रूपमा जी १ ह्युमानोइड रोबोट र गो२ क्वाड्रपेड रोबोट रहनेछन् । यस्तै, विभिन्न ब्रान्डका नयाँ मोडल सार्वजनिक गरिने तथा स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको विकास र कनेक्टिभिटी विषयमा सिम्पोजियम आयोजना गरिनेछ ।
आयोजकका अनुसार प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटोमोबाइल पार्टपूर्जा तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै जोनको व्यवस्था गरिएको छ । टिकटिङ पार्टनर खल्तीमार्फत अग्रिम टिकट खरिद गर्न सकिनेछ भने निश्चित अवधिका लागि ५० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको छ ।
प्रदर्शनीस्थलमा सञ्चारकर्मीका लागि मिडिया डेस्क, ट्राफिक व्यवस्थापनसम्बन्धी सूचना डेस्क, क्याफेटेरिया तथा आपत्कालीन स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ । पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनस्थित भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसर प्रयोग गर्न सकिने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा सीसीटीभीमार्फत सुरक्षा निगरानी, आगलागी नियन्त्रण व्यवस्था तथा ह्विलचेयरमैत्री संरचनाको व्यवस्था गरिनेछ ।
नाडाका अनुसार यस वर्षको अटो शोमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ प्रविधि र उत्पादनबारे जानकारी प्रदान गर्नुका साथै उद्योगी, व्यवसायी, उपभोक्ता तथा अन्य सरोकारवालाबीच व्यावसायिक सम्बन्ध विस्तारमा योगदान पुर्याउने आयोजकको विश्वास छ ।
नाडा अटो शो २०२६ का शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेका छन् भने सिक्खर इन्स्योरेन्स कम्पनी लिमिटेड को–स्पोन्सर तथा इन्स्योरेन्स पार्टनर, क्याम्पा बेभरेज पार्टनर, जीआई चार्जिङ चार्जिङ पार्टनर, द प्लाजा हस्पिटालिटी पार्टनर र खल्ती बाई आईएमई टिकटिङ पार्टनर रहेका छन् ।
याङ्गो मोबिलिटी पार्टनर, वल्र्डलिंक कनेक्टिभिटी पार्टनर तथा हिकभिजन सीसीटीभी नेपाल सर्भिलेन्स पार्टनरका रूपमा सहभागी छन् । कार्यक्रम व्यवस्थापन ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेसले गर्नेछ ।
View : 20
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved