विराट स्पोर्ट्स हब निर्माण हुँदै
विराटनगर
विराटनगर–३, दुधफारमबाट ४०० मिटर पूर्वमा नेपालको सबैभन्दा ठूलो खेल संरचना निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। करिब ३ करोड रुपैयाँको लागतमा ३० कठ्ठा क्षेत्रफल (जम्मा १०२,०६० स्क्वायर फिट) मा फैलिने गरी Birat Sport Zone द्वारा निर्माण सुरु गरिएको यो परियोजनाले विराटनगरलाई स्पोर्ट्सको हब बनाउने दीर्घकालीन लक्ष्य राखेको छ।
५१,००० स्क्वायर फिटको अत्याधुनिक खेल संरचनाभित्र क्रिकेट एकेडेमी, फुटसल, गो–कार्टिङ, स्केटिङ लगायत विभिन्न खेल सिकाइने व्यवस्था गरिनेछ। खेलाडीहरूको प्रतिभा विकास, अभ्यासका अवसर तथा प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न यो संरचना महत्वपूर्ण हुने विश्वास गरिएको छ।
आज आयोजित शिलान्यास कार्यक्रममा संस्थाका अध्यक्ष हरि बजगाईंले दशैँको अवसरमा खेल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। उहाँले निर्माण कार्य आजैदेखि फास्ट ट्र्याकमा अघि बढाइने जानकारी दिनुभयो।
"विराटनगरलाई खेलकुदको केन्द्रको रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ। स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा यो संरचनाले ऐतिहासिक भूमिका खेल्नेछ," अध्यक्ष बजगाईंले बताउनुभयो।
संस्थामा सचिव नवराज काफ्ले र कोषाध्यक्ष राज ढकाल रहेका छन्। उनीहरूले पनि निर्माण प्रक्रिया समयमै सम्पन्न गरी प्रभावकारी सञ्चालनमा ल्याउनेतर्फ प्रतिवद्धता व्यक्त गरेका छन्।
स्थानीयवासी, खेलप्रेमी तथा सरोकारवालाहरूले योजनाको सफल कार्यान्वयन तथा खेलक्षेत्रको समृद्धिको कामनासहित शुभकामना व्यक्त गरेका छन्।
View : 640
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved