Biratnagar, Morang, Nepal
राजनीति

कांग्रेस केन्द्रीय सदस्यमा चुडालको दाबी

-
अखवारका कुरा
१८ असोज २०८३, आइतवार

Advertisement

 

काठमाडौ : अधिवक्ता काशीनाथ चुडालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (विषयविज्ञ) पदमा उम्मेदवारी घोषणा गरेका छन्। मोरङ क्षेत्र नं. ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित चुडालले कानुनी तथा सामाजिक क्षेत्रको आफ्नो अनुभवलाई पार्टीको केन्द्रीय नेतृत्वमा उपयोग गर्ने बताएका छन्।

लामो समयदेखि कानुनी क्षेत्रमा सक्रिय चुडाल सामाजिक सेवामा समेत संलग्न छन्। लायन्स क्लबमा आबद्ध रहेर सामाजिक गतिविधिमा काम गर्दै आएका उनले कानुनी ज्ञान र सामाजिक क्षेत्रको अनुभवलाई पार्टीको नीति निर्माण र संगठन सुदृढीकरणमा उपयोग गर्ने बताएका हुन्।

चुडालले कांग्रेसको केन्द्रीय तहमा विषयविज्ञको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। बदलिँदो राजनीतिक र सामाजिक परिवेशअनुसार पार्टीको नीति तथा कार्यक्रम निर्माणमा सम्बन्धित क्षेत्रको विज्ञता उपयोग गर्न सके संगठन थप प्रभावकारी बन्ने उनको भनाइ छ।

आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षाभन्दा पनि आफूले हासिल गरेको ज्ञान, अनुभव र दक्षतालाई पार्टीमा योगदान गर्ने अवसरका रूपमा लिएको उनले बताए। कानुनी क्षेत्रको व्यावसायिक अनुभव र सामाजिक गतिविधिमा रहेको संलग्नतालाई पार्टीको कामसँग जोडेर अघि बढाउने उनको योजना छ।

“१५औँ महाधिवेशनमा केन्द्रीय सदस्य (विषयविज्ञ) पदमा उम्मेदवारी दिँदैछु। कानुनी र सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टीको नीति निर्माण र संगठन सुदृढीकरणमा उपयोग गर्ने मेरो उद्देश्य हो,” चुडालले भने।

उनले केन्द्रीय नेतृत्वमा पुगेपछि कानुनी, सामाजिक तथा समसामयिक विषयमा पार्टीभित्र नीतिगत बहसलाई बलियो बनाउने र आफ्नो क्षेत्रको अनुभवलाई कांग्रेसको सांगठनिक काममा जोड्ने बताएका छन्।

View : 480

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved