विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस परिसरमा रुख कटानका क्रममा विवाद देखिएको छ । विवाद पछि आधा काटिएको अवस्थामा रुख छाडिएपछि त्यसको व्यवस्थापन र बाँकी रुख कटान गर्ने विषयमा विवाद देखिएको छ।
कटानको जिम्मेवारी पाएको पक्षले आधा काटिएको रुखबाट जोखिम रहेको जनाएको छ भने हरियाली अभियन्ताले जोखिमयुक्त रुख व्यवस्थापनबाहेक अन्य रुख कटान गर्न नहुने बताएका छन्।
क्याम्पस परिसरका रुख लिलाम सकार गरी कटान तथा घाटगद्दीको काम गरिरहेको नवदुर्गा स–मिलले अवरोध सिर्जना भएका कारण केही रुख पूर्ण रूपमा ढाल्न नसकिएको जनाएको छ।
आधा काटिएको रुख जुनसुकै बेला ढल्न सक्ने भएकाले मानवीय तथा भौतिक क्षति हुन सक्ने भन्दै स–मिलले तिनको सुरक्षित व्यवस्थापनका लागि आवश्यक समन्वय गरिदिन आग्रह गरेको छ।
स–मिलले सम्भावित क्षति भए त्यसको जिम्मेवारी आफूले नलिने जनाएको छ। जोखिमयुक्त रुख सुरक्षित रूपमा हटाउन काम गर्ने वातावरण आवश्यक रहेको उसको भनाइ छ।
रुख कटानको जिम्मेवारी पाएका सकारकर्ता रामकुमार दाहालले आफूहरूले टेन्डर प्रक्रिया पूरा गरेर कटानको जिम्मेवारी पाएको बताए। प्रक्रिया पूरा गरी जिम्मेवारी प्राप्त भएपछि सोहीअनुसार काम अघि बढाइएको उनले बताए।
तर विराटनगरमा रुख रोप्ने अभियान संचालन गरिरहेका हरियाली अभियन्ता पारुल क्षेत्रीले क्याम्पस परिसरका स्वस्थ रुख कटान गर्न नहुने बताएका छन्। आधा काटिएको रुख जोखिमपूर्ण अवस्थामा भए सम्भावित दुर्घटना रोक्न सम्बन्धित पक्षबीच सहमति गरेर त्यस्ता रुखलाई सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।
‘क्याम्पस प्रमुखले रुख काट्ने प्रक्रियालाई रोक्न पर्छ जोखिममा रहेको रुखलाई बचाउन नसकिने हो भने सुरक्षित रुपमा व्यवस्थापन गर्नुपर्छ, काटिएको रुखलाइ हामीले टेको दिएर राखेका छौ । क्याम्पस प्रमुखले सो प्रक्रिया रोक्ने र जोखिम रहेको रुखलाई व्यवस्थापन गर्न सकिन्छ तर त्यसलाई आधार बनाएर अन्य स्वस्थ रुख कटान गर्नु हुँदैन,’ क्षेत्रीले भने।
रुख कटानको विषयमा सकारकर्ता र हरियाली अभियन्ताको धारणा फरक देखिएको छ। सकारकर्ता पक्षले टेन्डर प्रक्रियाबाट प्राप्त जिम्मेवारीअनुसार काम भइरहेको जनाएको छ भने अभियन्ता पक्षले क्याम्पसको हरियाली संरक्षणलाई प्राथमिकता दिनुपर्ने र जथाभावी रुख काट्न नहुने बताएको छ।
आधा काटिएका रुखबाट हुन सक्ने सम्भावित दुर्घटना रोक्नु तत्कालको विषय भए पनि त्यससँगै क्याम्पस परिसरका अन्य रुखको संरक्षण कसरी गर्ने भन्ने प्रश्न पनि उठेको छ। त्यसैले जोखिमयुक्त रुखको व्यवस्थापन र बाँकी रुखको संरक्षणका विषयमा क्याम्पस प्रशासन, सकारकर्ता तथा सरोकारवालाबीच समन्वय गरी निकास खोज्नुपर्ने देखिएको छ।
View : 55
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved