काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आँकलन’ प्रतिवेदनअनुसार बाढीबाट १८ वटा विद्यालयहरू प्रभावित भएका छन् ।
जसमा ११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ । विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन् । बाढीपश्चात त्यस क्षेत्रमा ९ हजारभन्दा धेरै विद्यार्थीहरूको पठनपाठन अबरुद्ध भएको छ ।
संरचना पुनर्निर्माण तथा पठनपाठन सहज पार्न तत्काल १० करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । दीर्घकालीन पुनरुत्थानका लागि २ अर्ब २३ करोड ८२ लाख १७ हजार ५०० रुपैयाँ लाग्नेछ ।
सरकारले प्रभावित विद्यार्थीका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ । नेपालका निजी स्कूलका विभिन्न पाँच वटा संस्थाहरूले पनि सरकारको आग्रहमा बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिन १ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन् ।
बाढीबाट प्रभावित भई विभिन्न ठाउँमा बसेका विद्यार्थीलाई तत्काल पठनपाठन सुचारु गर्नका निमित्त उनीहरूको पायक पर्ने विद्यालयमा नै व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहहरुले सहजीकरण गरिरहेका छन् ।
View : 21
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved