बिमाको कुरा
विराटनगर : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, विराटनगर शाखाले आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। शनिबार विराटनगरस्थित नमस्कार होटलमा आयोजित वार्षिक कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरूलाई पुरस्कृत गरिएको हो।
शाखा प्रमुख अमित कुमार कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यक्तिगत व्यापारतर्फ कृष्ण प्रसाद भट्टराई प्रथम, अस्मिता कुमारी चौधरी द्वितीय र धिरेन्द्र कुमार माझी तृतीय भए। यस्तै सञ्जालतर्फ चन्दा कुमारी रविदास प्रथम, सगमलाल चौधरी द्वितीय र सपना कुमारी रविदास सम्मानित भए।
सम्मानित अभिकर्ताहरूलाई कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेल प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए।
कार्यक्रममा कोशी प्रदेशमै एकै दिन एक करोड रुपैयाँ बीमाशुल्क संकलन गर्ने अभिकर्ता लता लाभलाई विशेष सम्मान गरिएको थियो, जसले कार्यक्रममा थप आकर्षण थपेको थियो।
दीर्घ सेवाका आधारमा शाखा स्थापना कालदेखि ३२ वर्षदेखि निरन्तर कार्यरत रामबहादुर लकाइ खड्का तथा २५ वर्षदेखि सक्रिय राजेश सरदार थारूलाई दोसल्ला ओढाएर विशेष सम्मान गरिएको छ।
त्यसैगरी, हरेक महिना उत्कृष्ट व्यापार गर्ने १२ जना अभिकर्ताहरूलाई ‘टप अफ द मन्थ’ अन्तर्गत पुरस्कृत गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा अभिकर्ता संघ विराटनगरका अध्यक्ष सगमलाल चौधरीले कम्पनीको व्यवसाय विस्तार र विश्वास निर्माणमा अभिकर्ताहरूको भूमिका महत्वपूर्ण रहने बताएका थिए। नायब प्रमुख कार्यकारी अधिकृत कँडेलले आफ्नो अनुभव साट्दै बीमा क्षेत्रमा सफल हुन आवश्यक सीप, अनुशासन र निरन्तरताबारे प्रशिक्षण दिएका थिए।
कार्यक्रमको समापन गर्दै शाखा प्रमुख कर्णले आर्थिक वर्षभरि हासिल उपलब्धिका लागि अभिकर्ताहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गरे।
View : 80
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved