Biratnagar, Morang, Nepal
प्रदेश

राष्ट्रिय युवा परिषद्को नेतृत्वमा कोशी प्रदेश युवा उद्यमशीलता प्रवर्धन सम्मेलन सम्पन्न

-
अखवारका कुरा
२१ जेठ २०८२, बुधवार

Advertisement

विराटनगर — युवा उद्यमशीलता र स्वरोजगारप्रति युवाको आकर्षण बढाउन राष्ट्रिय युवा परिषद्को नेतृत्वमा कोशी प्रदेशको राजधानी विराटनगरमा  कोशी प्रदेश युवा उद्यमशीलता प्रवर्धन सम्मेलन सम्पन्न भएको छ । उक्त कार्यक्रममा सरकारी अधिकारी, नीति निर्माता, वित्तीय क्षेत्रका प्रतिनिधि, उद्यमी तथा १४ जिल्लाका  युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्रालयका मन्त्री भुपेन्द्र राईले गरेका थिए। उनले सरकारले युवालाई स्वरोजगारमुखी बनाउन संरचनागत र नीतिगत तयारी गरिरहेको भन्दै अब युवाले अवसरको खोजी होइन, सिर्जनातर्फ लाग्नुपर्ने बताए।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले गरेका थिए भने सञ्चालन सञ्चारकर्मी भुमिका पाख्रिनले गरेकी थिइन्।

उद्घाटन सत्रमा  उपाध्यक्ष बस्नेतले भने, “युवा शक्ति नै राष्ट्रको असली धरोहर हो। हामीले उनीहरूलाई सही दिशा र वातावरण प्रदान गर्न आवश्यक छ। स्वरोजगारको माध्यमबाट मात्र युवा सशक्त हुनेछन् र देशको समृद्धिमा योगदान दिन सक्षम हुनेछन्।”


मुख्य वक्ताका रूपमा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले राज्य, निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्यबाट मात्रै उद्यमशील वातावरण तयार गर्न सकिने बताए। उनले भने, “युवामा लगानी गर्न तयार संरचना आवश्यक छ। उनीहरूको सोच, सीप र जोशलाई नीतिले साथ दिनुपर्छ।”

प्यानल छलफलमा मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख प्रबन्धक रिशब भट्टराई, र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् कोशी प्रदेशका निर्देशक उमेश प्रसाद खरेल सहभागी थिए। उनीहरूले शिक्षा र बजारबीच समन्वयको आवश्यकताबारे चर्चा गरेका थिए। बैंकले योजनाबद्ध उद्यम प्रस्ताव ल्याउने युवालाई सहयोग गर्न तयार रहेको र व्यावसायिक तालिमलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिइयो।मोडरेटरको भूमिका कान्तिपुर रेडियोका पत्रकार रमेश दुलालले निर्वाह गरेका थिए।

पूर्वमुख्यमन्त्री केदार कार्कीले भने, “उत्पादनशील र उद्यमशील युवालाई प्राथमिकता दिन राज्य पूर्ण रूपमा प्रतिबद्ध हुनुपर्छ ।  युवा उद्यमशीलताले मात्र देशको आर्थिक विकास र समृद्धि सुनिश्चित गर्न सक्छ। अब नीति निर्माता र कार्यान्वयनकर्ताले युवाहरूलाई आवश्यक स्रोत, सीप, र अवसर प्रदान गर्न पहल गर्नुपर्छ।”


कार्यक्रममा कृषि उद्यमी चन्द्रप्रकाश बस्नेत र उद्यमी तथा प्राध्यापक विनोद शिवाकोटीले आफ्ना सफलताको कथा सुनाउँदै स्वदेशमै सम्भावना प्रशस्त रहेको सन्देश दिएका थिए। “देशमै इमानदारी र मेहनतका साथ काम गरे सफलता टाढा छैन,” बस्नेतले भने भने शिवाकोटीले “संसाधनको अभाव होइन, सोचको कमीले हामी पछि पर्छौं” बताए।

कार्यक्रममा  युवा गीत प्रस्तुत गरियो भने स्वागत मन्तव्य राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले राखेका थिए। प्रदेश सासद कार्जायाङ शेर्पा , घरेलु तथा साना उद्योग महासङघ मोरङ अध्यक्ष  चेतन निरौला र  उद्योग संगठन मोरङका राकेश सुरानाले पनि शुभकामना मन्तव्य दिदै उद्धमशिलताको आवश्यकता  औंल्याए । 

राष्ट्रिय युवा परिषद्का सदस्य सुनिल सिवाकोटीले कोशी प्रदेशबाट सुरु गरिएको कार्यक्रमले युवामा प्रेरणा र सिकाइको अवसर प्रदान गरेको बताउँदै अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम विस्तार गर्ने योजना रहेको जानकारी दिए। यसले राष्ट्रिय स्तरमा युवा उद्यमशीलता प्रवर्द्धनमा नयाँ उर्जा थप्ने विश्वास गरिएको छ।

View : 130

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved