Biratnagar, Morang, Nepal
शिक्षा

विराटनगरको अर्किड कलेजले बाढी प्रभावितका लागि गर्‍यो ५ लाख सहयोग

-
अखवारका कुरा
२४ भदौ २०८३, बुधवार

Advertisement

विराटनगर । बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि विराटनगरस्थित अर्किड कलेजले ५ लाख १ हजार ३ सय ४१ रुपैयाँ सहयोग गरेको छ ।

कलेजका शिक्षक, विद्यार्थी तथा कर्मचारीबाट संकलित उक्त रकम आज उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, मोरङमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरेको हो । कलेजले सहयोग रकम बराबरको चेक उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, मोरङलाई प्रदान गरेको छ । 

विराटनगरस्थित कलेज परिसरमा आयोजित कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालका केन्द्रीय सचिन राजेश कार्की, मोरङका अध्यक्ष अमित ढकाल र सचिव भुवन नेपाललाई कलेजका प्रिन्सिपल मनिष भट्टराईले चेक हस्तान्तरण गरेका थिए ।

भोटेकोशी नदीमा आएको बाढी तथा रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम उपलब्ध गराएको जनाएको छ ।

कलेजका प्रिन्सिपल भट्टराईले प्राकृतिक विपत्तिको कठिन घडीमा पीडित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि दायित्व भएको बताए ।

‘विपद्को समयमा निजी क्षेत्र, विभिन्न संघसंस्था र आम नागरिक एकजुट भएर प्रभावित समुदायको घाउमा मलम लगाउनुपर्छ,’ उनले भने ।

विद्यालयले यसअघि पनि विभिन्न सामाजिक कार्य तथा दैवी विपत्तिका बेला सहयोग गर्दै आएको प्रिन्सिपल भट्टराईले बताए ।

View : 24

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved