Biratnagar, Morang, Nepal
मनोरंजन

चलचित्र ‘मालती मंगले’ को अस्ट्रेलिया प्रदर्शन अधिकार ‘सोल्ड आउट’

-
अखवारका कुरा
१५ जेठ २०८३, शुक्रवार

Advertisement

काठमाडौं । नेपालमा व्यावसायिक रूपमा प्रदर्शन भई हाल अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘मालती मंगले’को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ ।
निर्माण पक्षले दिएको जानकारीअनुसार अस्ट्रेलियामा यस चलचित्रको प्रदर्शन अधिकार माउन्ट पुमोरी इभेन्ट्सले खरिद गरेको हो ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् । चलचित्रको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद लेखनमा उनलाई संयोग गुरागाईँले साथ दिएका छन् । कथावस्तु र प्रस्तुति दुवै दृष्टिकोणले उत्कृष्ट मानिएको यस चलचित्रको अस्ट्रेलिया प्रदर्शनले त्यहाँ रहेका नेपाली चलचित्र प्रेमीहरूलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।
यस चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला र सुनिल तामाङलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ । सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस चलचित्रमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँले सह–निर्माताका रूपमा लगानी गरेका छन् ।
चलचित्रमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन र कृष्ण भण्डारीको रङ्ग संयोजन रहेको छ । त्यसैगरी, सुजिल कर्माचार्यले ब्याकग्राउन्ड स्कोर तयार पारेका छन् भने डिकेश खड्गीले ध्वनि मिश्रणको जिम्मेवारी सम्हालेका छन् । अस्ट्रेलिया राइट्स बिक्री भएसँगै चलचित्रको विदेश प्रदर्शनको यात्रा थप फराकिलो बन्दै गएको छ ।

View : 48

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved