Biratnagar, Morang, Nepal
सामाजिक सेवा

सहजको सेवा

विपन्न विद्यार्थीका लागि सहज फाउण्डेशनद्वारा शैक्षिक सामग्री वितरण

-
अखवारका कुरा
३० असार २०८२, मङ्गलवार

Advertisement


विराटनगर 
सहज फाउण्डेशन विराटनगरले सिद्धकाली आधारभूत विद्यालय, विराटनगर–५ का अति विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई झोला, कपी, कलमलगायतका सामग्री प्रदान गरिएको हो।

फाउण्डेशनका अध्यक्ष राहुल रोयले सामाजिक जिम्मेवारी अन्तर्गत बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। “हामीले थोरै सहयोगले पनि उनीहरूको भविष्य उज्यालो बनाउन टेवा पुग्ने विश्वास गरेका छौं,” उनले भने, “आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं।”

कार्यक्रमका प्रमुख अतिथि कृष्ण कार्कीले सहज फाउण्डेशनको प्रयासको प्रशंसा गर्दै शिक्षा क्षेत्रमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए। उनले भने, “आज यहाँबाट थालनी भएको सहयोगले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनेछ र सिकाइमा थप प्रेरणा मिल्नेछ।”

विद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार थापाले विद्यालयमा अध्ययनरत धेरै विद्यार्थी आर्थिक रूपमा कमजोर पृष्ठभूमिका भएकाले यस्ता सहयोगले उनीहरूको पठनपाठनमा ठूलो सहजता आउने बताए। “सहज फाउण्डेशनले गरेको यो सहयोग विद्यार्थीहरूका लागि अत्यन्त महत्वपूर्ण छ,” उनले भने, “हामी विद्यालय परिवारको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौं।”

नेपाल विद्यार्थी संघका जिल्ला सभापति सरोज पोखरेलले शिक्षालाई अधिकारका रूपमा स्थापित गर्न सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, “शिक्षा कसैका लागि बाधा नबनोस् भन्ने उद्देश्यले गरिएको सहयोग निकै प्रेरणादायी छ। यस्ता कामले समाजमा सकारात्मक सन्देश फैलिन्छ र विद्यार्थीहरूमा पनि संघर्ष गर्ने आत्मबल बढ्छ।”

कार्यक्रममा सहज फाउण्डेशनका निवर्तमान अध्यक्ष पवन भट्टराईले संस्थाले स्थापना कालदेखि नै सामाजिक सेवालाई प्राथमिकता दिँदै आएको उल्लेख गरे। उनले भने, “हामीले सुरु गरेको यो अभियान अहिले नयाँ नेतृत्वले अझ प्रभावकारी ढंगले अघि बढाइरहेको देख्दा खुशी लागेको छ। भविष्यमा पनि सबैको साथ र सहयोग रहनेछ भन्ने विश्वास लिएको छु।”

कार्यक्रममा फाउण्डेशनका महासचिव अर्जुन मण्डल, कोषाध्यक्ष रेहान भट्टराई, युवा नेता राजन न्यौपाने, युवा नेता भोला मण्डल , मारवाडी युवा मञ्चका अध्यक्ष मोहित लालवानी, व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव, फाउण्डेशनका पदाधिकारी, पूर्वपदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति थियो।

फाउण्डेशनले आगामी दिनमा पनि सामाजिक र शैक्षिक कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ।

View : 336

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved