Biratnagar, Morang, Nepal
सामाजिक सेवा

तालिम सप्ताह–२०२६ : जलनबाट बच्ने उपायबारे विराटनगर जेसीजको तालिम

-
अखवारका कुरा
५ असोज २०८३, सोमवार

Advertisement

 

विराटनगर : जलनका घटना हुन नदिन अपनाउनुपर्ने सावधानी र जलन भइहालेमा अपनाउनुपर्ने प्रारम्भिक उपायबारे विराटनगर जेसीजले शिक्षक–शिक्षिकालाई तालिम दिएको छ। तालिम सप्ताह–२०२६ अन्तर्गत दोस्रो कार्यक्रमका रूपमा जेसी बाल सदनका शिक्षक–शिक्षिकालाई लक्षित गरी तालिम आयोजना गरिएको हो।

तालिममा आगलागी तथा जलनका सम्भावित कारण, जोखिम न्यूनीकरणका उपाय, जलनबाट बच्ने सुरक्षित व्यवहार तथा दुर्घटना भइसकेपछि अपनाउनुपर्ने प्रारम्भिक सावधानीबारे जानकारी दिइएको थियो।

मुख्य प्रशिक्षक जेसीआई टट शिवशंकर मण्डलले आगो, तातो पानी, ग्यास, विद्युतीय उपकरण तथा अन्य स्रोतबाट हुनसक्ने जलनका जोखिमबारे प्रशिक्षण दिएका थिए। उनले जलनको जोखिम कम गर्न दुर्घटना हुनुअघि नै आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि बोर्ड अफ ट्रस्टीका अध्यक्ष टीकाराज ढकालले जलन तथा आगलागीबाट हुने दुर्घटना न्यूनीकरणका लागि सचेतना र पूर्वतयारी आवश्यक रहेको बताए। विद्यालयमा बालबालिकासँग प्रत्यक्ष सम्पर्कमा रहने शिक्षक–शिक्षिकाले यस्ता जोखिमबारे व्यवहारिक ज्ञान हासिल गर्नु महत्वपूर्ण रहेको उनको भनाइ थियो।

विराटनगर जेसीजका उपाध्यक्ष जेसी अभिषेक गौतमले स्वागत मन्तव्य राख्दै जलन तथा आगलागीबाट हुने क्षति कम गर्न पूर्वसावधानी र सुरक्षित व्यवहार आवश्यक रहेको बताए।

कार्यक्रमको संयोजन जेसी निर्मल सापकोटाले गरेका थिए।

विराटनगर जेसीजका अध्यक्ष जेसी कविराज दाहालले तालिम सप्ताहमार्फत युवालाई व्यवहारिक ज्ञान र जीवनोपयोगी सीप प्रदान गर्ने उद्देश्य रहेको बताए। उनले दुर्घटना भएपछि उपचार खोज्नेभन्दा दुर्घटना हुनै नदिने गरी सावधानी अपनाउने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।

विराटनगर जेसीजका जनसम्पर्क अधिकारी जेसी आकृति रानी फुयलका अनुसार कार्यक्रममा विराटनगर जेसीजका पूर्वअध्यक्ष देवेश प्रधान, जेसी बाल सदनका प्रधानाध्यापक तुलसी दुलाललगायतको उपस्थिति थियो।

तालिम सप्ताह–२०२६ अन्तर्गत युवाको नेतृत्व विकास, जीवनोपयोगी सीप, जोखिम न्यूनीकरण तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन भइरहेको विराटनगर जेसीजले जनाएको छ।

View : 18

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved