गोदाम घर हस्तान्तरण
विराटनगर – संघीय सरकारले विराटनगर भन्सार क्षेत्रमा निर्माण गरिएको आपतकालीन गोदामघर कोशी प्रदेश सरकारलाई मंगलबार हस्तान्तरण गरेको छ। गृहमन्त्री रमेश लेखकले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई गोदामघरको साँचो हस्तान्तरण गर्दै संघीयता कार्यान्वयनलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाउनुभयो।
संघीयता कार्यान्वयनमा ठोस कदम
गृहमन्त्री लेखकले संघीयता कार्यान्वयनमा सरकारले शिक्षा, निजामती सेवा र प्रहरीसम्बन्धी विधेयक चाँडै पारित गर्ने योजना रहेको बताउनुभयो । “संघीयता कार्यान्वयनलाई गति दिन र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रदेशहरूलाई थप अधिकार दिइनेछ,” उहाँले भन्नू भयो ।
प्रदेश सरकारको अपेक्षा
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संघीय सरकारको यो कदमलाई सकारात्मक भन्दै थप अधिकार हस्तान्तरणको अपेक्षा व्यक्त गरे। “यो गोदामघरले विपद् व्यवस्थापनमा हाम्रो तयारीलाई बलियो बनाउनेछ,” उहाँले थप्नु भयो ।
विपद् सामग्रीहरूको संग्रहण
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टका अनुसार, गोदामघरमा टेन्ट, त्रिपाल, स्लीपिङ ब्याग, शेल्टर किट, ब्लाङ्केटलगायत ११ प्रकारका आपतकालीन सामग्रीहरू भण्डारण गरिएका छन्।
अबदेखि यो गोदामघर कोशी प्रदेश सरकारको मातहतमा रहनेछ। संघीय सरकारले हरेक प्रदेशमा यस्ता गोदामहरू निर्माण गरी विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै आएको छ।
View : 90
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved