Biratnagar, Morang, Nepal
सामाजिक सेवा

समावेशी समाजतर्फ कदम : सहयोग वितरणसँगै रामधुनी भ्रमण तयारी

-
अखवारका कुरा
२ फागुन २०८२, शनिवार

Advertisement

विराटनगर :  अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकतामा आधारित सहयोग सामग्री वितरण गरिएको छ । विराटनगर केन्द्रित ‘सामर्थ्य समाज’ले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिका-४ को आर्थिक सहयोगमा वडाभित्रका अपाङ्गता भएका व्यक्तिलाई सामग्री हस्तान्तरण गरेको हो ।


१७ वर्षदेखि अपाङ्गताको क्षेत्रमा क्रियाशील संस्थाले लाभग्राहीको अवस्था र आवश्यकता पहिचान गरी सामग्री उपलब्ध गराएको जनाएको छ । कार्यक्रम विराटनगर-४ स्थित आधारभूत विद्यालयमा सम्पन्न भएको थियो ।


संस्थाका अध्यक्ष चेतनाथ पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. ४ का वडा सचिव धमनबहादुर बानियाँ वडा प्रतिनिधिका रूपमा उपस्थित थिए । कार्यक्रममा अध्यक्ष पोखरेलले अपाङ्गता भएका व्यक्तिहरूको सवालप्रति वडा अध्यक्ष जितन थापा सहित जनप्रतिनिधिहरू सकारात्मक रहेको उल्लेख गर्दै सहकार्यका लागि धन्यवाद व्यक्त गरे । कार्यक्रम सञ्चालनमा वडा कार्यालय र विद्यालय परिवारको सहयोग रहेको उनले बताए ।


वडा सचिव बानियाँले अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता सम्बोधन गर्न वडा कार्यालय प्रतिबद्ध रहेको उल्लेख गरे । सहकार्य र समन्वयका कारण लक्षित वर्गसम्म सेवा पुर्‍याउन सहज भएको उनले बताए ।


यसैबीच, अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले वडा नं. ४ र १० का लाभग्राहीलाई संयुक्त रूपमा सुनसरीस्थित रामधुनी तथा आसपासका क्षेत्रमा आज धार्मिक तथा अवलोकन भ्रमण गराइने संस्थाले जनाएको छ ।


संस्थाले यस्ता कार्यक्रममार्फत अपाङ्गता भएका व्यक्तिहरूको आत्मविश्वास वृद्धि, सामाजिक समावेशिता र समुदायसँगको अन्तर्क्रिया सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।

View : 33

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved