Biratnagar, Morang, Nepal
राजनीति

प्रधानमन्त्री कार्यालयबाट जवाफदेहिता होइन, मौनता र मिश्रित शक्ति प्रदर्शन भयो : सांसद ओली

-
अखवारका कुरा
५ असार २०८३, शुक्रवार

Advertisement

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिबारे उठेको विवाद, संवैधानिक निकायहरूको स्वतन्त्रता, प्रशासनिक संयन्त्रमा बढ्दो हस्तक्षेप तथा कूटनीतिक मर्यादासम्बन्धी विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको संवैधानिक मर्यादा, सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि नै प्रश्न खडा गरेको बताइन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले सदनमा मात्र होइन, मुलुकको संवैधानिक मर्यादा, सार्वभौमिकता र संस्थागत स्थायित्वमाथि नै गम्भीर प्रश्न खडा गरेको धेरै हप्ता बितिसकेको छ। हामी निरन्तर जिम्मेवार जवाफको अपेक्षा गरिरहेका छौँ, तर प्रधानमन्त्री कार्यालयबाट जवाफदेहिता होइन, मौनता र मिश्रित शक्ति प्रदर्शनको संकेत देखिएको छ।’

ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संवैधानिक निकायहरूको स्वतन्त्रता सुनिश्चित गर्नुपर्नेमा उल्टै हस्तक्षेपकारी भूमिका निर्वाह गरेको आरोपसमेत लगाइन्।

सार्वजनिक रूपमा आएका समाचारहरूको उल्लेख गर्दै उनले प्रधानमन्त्री कार्यालयका सल्लाहकार तथा सहयोगीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि दबाब दिएको आरोपबारे स्पष्ट जवाफ दिन सरकारसँग माग गरिन्।

‘यदि यो समाचार असत्य हो भने सरकारले तत्काल खण्डन गर्नुपर्छ, । यदि सत्य हो भने यो संवैधानिक निकायको स्वतन्त्रतामाथि गरिएको प्रत्यक्ष हस्तक्षेप हो,’ उनले भनिन्।

 

सांसद ओलीले नेपालको कूटनीतिक प्रतिष्ठामाथि पनि असर पर्ने खालका गतिविधि भएको दाबी गर्दै कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग भएको भनिएको व्यवहारले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि कमजोर बनाउने चेतावनी दिइन्।

प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयसम्म निजी सचिवालयको प्रभाव अस्वाभाविक रूपमा बढेको र स्थायी प्रशासनिक संयन्त्रमाथि अनौपचारिक शक्ति केन्द्र हाबी हुन थालेको भन्दै उनले चिन्ता व्यक्त गरिन्। 

View : 54

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved