Biratnagar, Morang, Nepal
राजनीति

विराटनगरको वडा नेतृत्वदेखि कांग्रेस महामन्त्रीसम्म डिला संग्रौला

-
अखवारका कुरा
२६ असोज २०८३, सोमवार

Advertisement


काठमाडौँ - विराटनगरलाई कर्मभूमि बनाएर नेपाली कांग्रेसको राजनीतिमा स्थापित डिला संग्रौला पार्टीको इतिहासमै पहिलो महिला महामन्त्री निर्वाचित भएकी छन्। मोरङमा स्थानीय संगठनको नेतृत्व गर्दै केन्द्रीय राजनीतिमा अघि बढेकी संग्रौला १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएकी हुन्।
महिला क्लस्टरअन्तर्गत भएको प्रतिस्पर्धामा उनले महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनाललाई पराजित गरिन्। कांग्रेसले यसपटक विधान संशोधन गरी महामन्त्री पदमा महिलाका लागि छुट्टै क्लस्टरको व्यवस्था गरेको थियो। सोही व्यवस्थाअन्तर्गत संग्रौला पार्टीको पहिलो महिला महामन्त्री बनेकी छन्।
संग्रौलाको राजनीतिक परिचय निर्माणमा मोरङको महत्वपूर्ण भूमिका छ। दाङमा जन्मिएकी उनले विवाहपछि विराटनगरलाई कर्मभूमि बनाउँदै कांग्रेसको स्थानीय संगठनमा काम गरेकी थिइन्। तत्कालीन विराटनगर–१५, हाल वडा नम्बर ११ मा महिला संघ र कांग्रेस वडा समितिको सभापतिको जिम्मेवारी सम्हालेकी उनी नगर तथा जिल्ला तह हुँदै केन्द्रीय राजनीतिमा अघि बढेकी हुन्।
विराटनगरमा रहँदा उनले राजनीतिक गतिविधिसँगै प्राध्यापनलाई पनि निरन्तरता दिइन्। कन्या क्याम्पसबाट अध्यापन सुरु गरेकी संग्रौला महेन्द्र मोरङ क्याम्पस तथा स्नातकोत्तर क्याम्पसमा समेत प्राध्यापनमा संलग्न थिइन्। अध्ययन, अध्यापन र पारिवारिक जिम्मेवारीसँगै उनले पार्टी संगठनमा आफ्नो सक्रियता कायम राखिन्।
विराटनगरको वडा तहमा संगठन सम्हालेकी संग्रौला अब कांग्रेसको संगठन सञ्चालनमा महत्वपूर्ण भूमिका रहने महामन्त्री पदमा पुगेकी छन्। उनको निर्वाचनसँगै पार्टीको महामन्त्री तहमा पहिलोपटक महिलाको प्रतिनिधित्व स्थापित भएको छ।

View : 41

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved