विराटनगर । एउटै आयोजक र एउटै मुख्य प्रायोजकको निरन्तरता रहेको कोशी प्रदेशको प्रतिष्ठित ३० औं संस्करणको अन्तरविद्यालय जेसीज टेस्टी टेस्टी हाजिरीजवाफ प्रतियोगिता मङ्गलवार सम्पन्न भएको छ।
फाइनल चरणमा एभरेष्ट स्कुल, सहिद स्मृति स्कुल, बिकेभिएम स्कुल, श्री जनता माध्यमिक विद्यालय (इटहरी), आरम्भ स्कुल र पूर्वाञ्चल स्कुल सहभागी भएका थिए। प्रतिस्पर्धात्मक फाइनल खेलमा कोशी प्रदेशका १८ वटा विद्यालयलाई पछि पार्दै बिकेभिएम स्कुलले उपाधि जित्न सफल भएको छ।
बिकेभिएम स्कुलले उपाधिसँगै नगद १५ हजार रुपैयाँ, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता बनेको एभरेष्ट स्कुलले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ भने इटहरीस्थित श्री जनता माध्यमिक विद्यालय तृतीय हुँदै नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।
बिजयी विद्यालयहरूलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मुख्य प्रायोजक काबरा ग्रुपका निर्देशक नवल किशोर काबरा, विराटनगर जेसीजका अध्यक्ष कविराज दाहाल, निवर्तमान अध्यक्ष प्रीतेशराज दाहाल, बोर्ड अफ ट्रस्टका अध्यक्ष टिकाराज ढकाल, विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष तथा क्विज मास्टर डाक्टर सन्देश दास श्रेष्ठ, तथा विराटनगर जुनियर जेसीजकी अध्यक्ष आयुशा खतिवडा लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
समापन समारोहमा विराटनगर जेसीजका अध्यक्ष कविराज दाहाल र निवर्तमान अध्यक्ष प्रीतेशराज दाहालले प्रतियोगितालाई निरन्तरता दिइएकोमा खुसी व्यक्त गर्दै विद्यार्थीहरूमा ज्ञान, तार्किक क्षमता र आत्मविश्वास विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
मेयर नागेश कोइरालाले अन्तरविद्यालय ‘टेस्टी–टेस्टी’ हाजिरीजवाफ प्रतियोगिता शिक्षामा निरन्तरता, अनुशासन र प्रतिबद्धताको सशक्त उदाहरण बनेको बताए। उनले तीन दशकदेखि एउटै आयोजक र एउटै प्रायोजकको निरन्तरतामा प्रतियोगिता सञ्चालन हुनु आफैंमा प्रशंसनीय उपलब्धि रहेको उल्लेख गरे।
त्यसैगरी, विराटनगर जुनियर जेसीजकी अध्यक्ष आयुशा खतिवडाले प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता, आत्मविश्वास र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन्। उनले यस्ता शैक्षिक प्रतियोगिताले विद्यार्थीहरूलाई अनुशासित, जिज्ञासु र जिम्मेवार नागरिक बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।
विराटनगर जुनियर जेसीजका संस्थापक अध्यक्ष तथा क्विज मास्टर डाक्टर सन्देश दास श्रेष्ठले प्रतियोगिता ज्ञान, तर्क र आत्मविश्वासको उत्कृष्ट संगम भएको उल्लेख गर्दै, विद्यार्थीहरूमा सोच्ने क्षमता र तार्किक विश्लेषणको विकासका लागि यस्ता प्रतियोगिताहरू अझ विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
विगत ३० वर्षदेखि काबरा ग्रुपको टेस्टी टेस्टी बिस्कुट मुख्य प्रायोजक रहेको यस प्रतियोगिता "जेसीज टेस्टी टेस्टी हाजिरीजवाफ प्रतियोगिता"को नामबाट आयोजना हुँदै आइरहेको छ भने क्विज मास्टरका रुपमा विराटनगर जुनियर जेसीजका सस्थापक अध्यक्ष डाक्टर सन्देश दास श्रेष्ठ र पुर्व अध्यक्ष सन्दीप दास श्रेष्ठले निरन्तरता दिएका छन ।
२५ औं सस्करण सम्म विरेन्द्र सभा गृहमा संचालित प्रतियोगिता विरेन्द्र सभा गृह लाई नयाँ स्वरुप दिन मर्मत कार्य हुने भए पछि ५ बर्ष सम्म अन्यत्र संचालन भएको थियो भने ३० औं संस्करण देखि पुनःनिर्माण सम्पन्न भए पश्चात् विरेन्द्र सभा गृहमै पुनः फर्किएको छ ।
प्रतियोगितामा कोशी प्रदेशका १८ वटा विद्यालयको सहभागिता रहेको विराटनगर जुनियर जेसीजका महासचिव ओम जोगीले जानकारी दिए।
View : 95
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved