धनकुटा - प्रदेशभर मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित कोशी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रदेश तालिम केन्द्र धनकुटामा मनोसामाजिक परामर्शकर्ता सम्बन्धी ६ महिने मोडुलर तालिम सुरु भएको छ। कार्यक्रमको उद्घाटन स्वास्थ्य मन्त्री मान बहादुर लिम्बुले गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भएकाले यसको प्रभावकारिता प्रतिवेदनमा मात्र सीमित नराखी नागरिकको जीवनमा देखिनुपर्ने बताए। केही जिल्लाबाट प्राप्त प्रगति विवरण तथा सूचक सुधार अपेक्षाअनुरूप नभएको उल्लेख गर्दै उनले अब परिणाममुखी ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
“हामीले खर्च गरेको बजेट, सञ्चालन गरेका कार्यक्रम र दिएका निर्देशन अन्ततः जनताले सेवा पाएको अनुभवमा रूपान्तरित हुनुपर्छ,” मन्त्री लिम्बुले भने, “अब बहाना होइन, परिणाम देखिनुपर्छ।”
मानसिक स्वास्थ्यलाई संरचनागत प्राथमिकता
प्रदेशमा मानसिक स्वास्थ्य सेवा अझै पर्याप्त पहुँचमा पुग्न नसकेको अवस्थामा सञ्चालन गरिएको यो तालिमलाई दीर्घकालीन संरचनागत सुधारको आधारका रूपमा लिइएको छ। ६ महिनाको मोडुलर संरचनामा सञ्चालन हुने तालिमले जिल्लास्तरमा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउने दक्ष जनशक्ति तयार गर्ने लक्ष्य राखेको छ।
मन्त्री लिम्बुले नसर्ने रोग, मानसिक स्वास्थ्य, मातृ तथा शिशु स्वास्थ्य कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिँदै सूचक सुधारलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे।
बजेट अनुशासन र कार्यसम्पादन
स्वीकृत वार्षिक कार्यक्रमअनुसार बजेट कार्यान्वयन गर्न, त्रैमासिक लक्ष्यअनुसार प्रगति सुनिश्चित गर्न र पूँजीगत बजेट प्रभावकारी रूपमा उपयोग गर्न उनले जोड दिए। अन्तिम त्रैमासमा मात्र खर्च गर्ने प्रवृत्ति सुधार गर्नुपर्ने उनको भनाइ थियो।
कम प्रगति भएका जिल्लालाई सुधार कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिइएको छ।
पारदर्शिता र समन्वय
सार्वजनिक खरिद ऐन तथा नियमावलीको पूर्ण पालना, ई–बिडिङ प्रणालीको प्रयोग र औषधि तथा उपकरण खरिदमा गुणस्तर परीक्षण अनिवार्य गर्नुपर्ने मन्त्रीले बताए।
खरिद विवरण सार्वजनिक गर्ने, बेरुजु घटाउने रणनीति लागू गर्ने र लेखापरीक्षणमा देखिएका कैफियत समयमै फर्छ्यौट गर्ने विषयमा पनि स्पष्ट निर्देशन दिइएको छ। असुल उपर गर्नुपर्ने रकम सरकारी खातामा समयमै जम्मा गर्नुपर्ने उल्लेख गरिएको छ।
कुनै महामारीको अवस्था सिर्जना भएमा वा ठूला खरिद तथा संरचनात्मक निर्णय लिनुपरेमा मन्त्रालयसँग समन्वय गरेर अघि बढ्नुपर्ने मन्त्री लिम्बुले स्पष्ट पारे।
प्रदेश तालिम केन्द्र धनकुटामा सुरु भएको उक्त तालिममा विभिन्न जिल्लाबाट स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ। मन्त्रालयले यस तालिमलाइ प्रदेशभर मानसिक स्वास्थ्य सेवा सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।
View : 36
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved