विराटनगर - गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष उदयनारायण बरालको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।
सभाले सो आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र संस्थाको व्यवस्थापत्र तथा नियमावली संशोधनका प्रस्तावहरू पनि सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकमा बिपी एशोसिएट्स, काठमाडौंलाई नियुक्त गर्ने निर्णय गरिएको छ।
सभाबाट संस्थापक शेयरधनीतर्फका चार सञ्चालकका रूपमा उदयनारायण बराल, मदन खतिवडा, विजयकुमार दाहाल र डा. मनीष अर्याल निर्वाचित भएका छन्। त्यसपछि बसेको सञ्चालक समितिको बैठकले पुनः बराललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो।
सामाजिक क्षेत्रदेखि व्यवसायिक जगतसम्म सक्रिय बराललाई अनुशासन, दृष्टिकोण र नेतृत्व क्षमताको उत्कृष्ट संयोजनका रूपमा चिनिन्छ। लायन्स इन्टरनेशनल, डिष्टिक ३२५ सी का निर्वतमान क्याबिनेट सेक्रेटरीसमेत रहेका बराललाई लायन्स मूभमेन्टभित्र दूरदृष्टि, संगठनात्मक क्षमता र मानवीय सेवाप्रतिको प्रतिबद्धताका कारण उदयमान, सक्षम र भविष्यका नेतृत्वकर्ताको रूपमा सम्मानका साथ हेरिन्छ।
बैंक तथा वित्तीय संस्था, औषधि उद्योग र सामाजिक सेवामा उनको अनुभवले उनलाई एक बहुआयामिक व्यक्तित्वका रूपमा स्थापित गरेको छ। गुराँस लघुवित्तको नेतृत्वमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका बरालको योजनात्मक दृष्टिकोणले संस्था थप सुदृढ हुने विश्वास गरिएको छ।
कोशी प्रदेश कार्यक्षेत्र रहेको लघुवित्तले हाल १३ जिल्लाका ३६ शाखा कार्यालयमार्फत ग्रामीण क्षेत्रका करिब २४ हजार गरीब तथा निम्न मध्यम वर्गीय परिवारहरूलाई वित्तीय सेवाको पहुँच पुर्याउँदै आएको छ।
View : 119
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved