Biratnagar, Morang, Nepal
स्थानीय तह

उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन

विराटनगरमा उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु

पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन, २९१ प्रतिनिधिको सहभागिता
-
अखवारका कुरा
२३ जेठ २०८२, शुक्रवार

Advertisement

विराटनगर 
उपप्रमुख तथा उपाध्यक्षहरूको क्षमता अभिवृद्धि र स्थानीय सरकारबीच समन्वय सुदृढ गर्ने उद्देश्यले विराटनगरमा शुक्रबारदेखि दुई दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ। विराटनगर महानगरपालिकाको आयोजनामा विरेन्द्रसभा गृहमा सुरु भएको सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्।

सम्मेलनमा देशभरका ६ वटा महानगर, ११ उपमहानगर र विभिन्न प्रदेशका २९१ जना उपप्रमुख तथा उपाध्यक्षको सहभागिता रहेको छ। विराटनगर महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार कोशी प्रदेशबाट १३६, मधेसबाट ७३, बागमतीबाट ४१ र अन्य पाँच प्रदेशबाट उपप्रमुख तथा उपाध्यक्षहरू सहभागी छन्।

उपप्रमुख कार्कीले सम्मेलनले योजना तर्जुमा, अनुगमन तथा मूल्यांकन, न्यायिक निरुपण र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन्। “यो सम्मेलनमार्फत असल अभ्यासको आदानप्रदान, नीति निर्माणमा स्पष्टता र कानुनी अन्योल हटाउन सुझावहरू संकलन गरिनेछ,” उनले भनिन्, “विराटनगर घोषणापत्रमार्फत थप अधिकारको माग गरिनेछ।”

कार्यक्रममा प्रमुख नागेश कोइरालाले अध्यक्षता गरेका थिए। उनले स्थानीय सरकार सञ्चालनमा प्रमुख र उपप्रमुखबीचको सहकार्य महत्वपूर्ण हुने भन्दै सबै पालिकामा सुमधुर सम्बन्धको आवश्यकता औंल्याए। “महानगरमा सहकार्यको राम्रो उदाहरण छ,” उनले भने, “यसलाई सबै स्थानीय तहमा विस्तार गर्न सकिन्छ।”

सम्मेलनमा  काशीराज दाहाल, संघीयता विज्ञ डा. गोपी खनाल र स्थानीय सरकार विज्ञ रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन्। कार्यपत्रहरू न्यायिक समितिको भूमिकादेखि संघीय संरचनामा स्थानीय तहको जिम्मेवारी र विकासमा नेतृत्वको भूमिकासम्म केन्द्रित हुने बताइएको छ।

सम्मेलनमा सहभागी प्रतिनिधिहरूले समूहगत छलफलमार्फत अनुभव साटासाट गर्नेछन्। अन्तिम दिन ‘विराटनगर घोषणा पत्र’ जारी गर्दै सम्मेलनको समापन गरिने महानगरले जनाएको छ।

View : 50

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved