Biratnagar, Morang, Nepal
साहित्य

भानुको स्मृतिमा शब्दको उत्सव : एभरेष्टमा कविता वाचन, स्रष्टा रोहिणी रशिक सम्मानित

-
अखवारका कुरा
२९ असार २०८३, सोमवार

Advertisement

विराटनगर - आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा विराटनगर–५ स्थित एभरेष्ट माध्यमिक विद्यालयमा कविता, सिर्जना र स्रष्टाप्रतिको सम्मान एकै मञ्चमा अभिव्यक्त भएको छ। विद्यालयले आयोजना गरेको कविता वाचन प्रतियोगिता र स्रष्टा सम्मान कार्यक्रमले साहित्यप्रेमी विद्यार्थीलाई सिर्जनात्मक अभिव्यक्तिको अवसर प्रदान गर्नुका साथै अग्रज स्रष्टाप्रति सम्मान व्यक्त गरेको हो।

विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा कक्षा ११ र १२ का २४ विद्यार्थीले प्रकृति, देश, समाज, मानवीय संवेदना र समकालीन विषयवस्तुलाई समेट्दै आफ्ना मौलिक कविता प्रस्तुत गरेका थिए। प्रतियोगितामा 'भानु हेर तिम्रो देश' शीर्षकको कविता प्रस्तुत गरेकी कक्षा १२ की छात्रा सौमिका ढकाल प्रथम हुँदै नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्न सफल भइन्।

त्यसैगरी 'फर्कि आउ घर' शीर्षकको कविता वाचन गरेका कक्षा १२ का प्रेम खतिवडा द्वितीय हुँदै ७ हजार रुपैयाँ प्राप्त गरे। 'प्रकृतिको मौन पुकार' शीर्षकको कविता प्रस्तुत गरेका कक्षा ११ का आर्जन बराल तृतीय घोषित हुँदै ५ हजार रुपैयाँबाट पुरस्कृत भए भने 'मुकुन्डो र मुकुट' शीर्षकको कविता वाचन गरेका कक्षा १२ का रियोज मास्के सान्त्वना स्थान हासिल गर्दै ३ हजार रुपैयाँ प्राप्त गरे।

साहित्यकार तथा कवयित्री निर्मला कोइराला र कवि मीनकुमार नवोदित निर्णायक रहेको प्रतियोगितामा विद्यार्थीहरूले साहित्यप्रतिको गहिरो रुचि र सिर्जनशील क्षमता प्रस्तुत गरेका थिए।

सोही अवसरमा साहित्यकार तथा कवि रोहिणी रशिकलाई नेपाली साहित्यमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको थियो। प्रमुख अतिथि, साहित्यकार तथा राष्ट्रियसभा पूर्वसदस्य खेम नेपाली र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले दोसल्ला, सम्मानपत्र तथा नगद १५ हजार ५ रुपैयाँ प्रदान गर्दै रशिकलाई सम्मान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खेम नेपालीले कविता केवल शब्दको संयोजन नभई समाज रूपान्तरणको शक्तिशाली माध्यम भएको उल्लेख गरे। उनले भानुभक्तका कृतिहरू दुई शताब्दीपछि पनि उत्तिकै जीवन्त रहनु साहित्यको अमर शक्तिको प्रमाण भएको बताए। कला र साहित्यले मानिसको भौतिक अस्तित्व समाप्त भए पनि उसको विचार र योगदानलाई सदैव जीवित राख्ने उनको भनाइ थियो।

विद्यालयका प्रिन्सिपल तथा कार्यक्रमका अध्यक्ष टिकाराम पुरीले पुस्तान्तरण प्रकृतिको नियम भए पनि त्यसका नाममा इतिहास र अग्रजहरूको योगदानलाई ओझेलमा पार्न नहुने धारणा राखे। भानुभक्तको योगदानलाई स्मरण गर्दै नयाँ पुस्तालाई साहित्यसँग जोड्ने उद्देश्यले कविता वाचन प्रतियोगिता र स्रष्टा सम्मान कार्यक्रम आयोजना गरिएको उनले बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदिप कोइराला, विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरी, शिक्षक–शिक्षिका तथा कक्षा ११ र १२ का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भानु जयन्तीको अवसरमा आयोजित यो कार्यक्रमले नेपाली भाषा, साहित्य र सिर्जनशीलताको संरक्षण तथा नयाँ पुस्तामा साहित्यिक चेतना विस्तार गर्ने प्रयासलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।

View : 37

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved