गर्मीले सताउँदा इग्नाइट सक्रिय
विराटनगर —
गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला इग्नाइट फाउण्डेसन विराटनगरले सर्वसाधारणका लागि निःशुल्क चिसो पानी र सर्बत वितरण सेवा सुरु गरेको छ।
विराटनगरको व्यस्त ट्राफिक चोकमा सुरु गरिएको यस सेवाको उद्घाटन मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै उनले इग्नाइट फाउण्डेसनले युवाको सामाजिक उत्तरदायित्वबोध प्रस्तुत गरेको बताए।
“गर्मीको बेला यस्तो सानो प्रयासले पनि ठूलो प्रभाव पार्न सक्छ,” प्रजिअ यादवले भने।
फाउण्डेसनका अध्यक्ष आश्रेय कोइरालाको अगुवाइमा सञ्चालनमा आएको यो सेवा गर्मीभरि निरन्तर चलाइनेछ। “शहरभर गर्मीले सताइरहेका बेला पानीको एउटा गिलासले पनि मान्छेलाई राहत दिन सक्छ भन्ने सोचले यो काम थालेका हौं,” अध्यक्ष कोइरालाले बताए।
सेवाको पहिलो दिन शनिबार सयौंले चिसो पानी र सर्बत सेवा लिएका थिए। यो सेवा गर्मि भर निरन्तर रह्ने र सस्थाका सबै सद्स्य यस पुन्यको कार्यमा लाग्ने सस्थाका कोषाध्यक्ष राहुल सहनीले जानकारी दिए ।
केही दिनदेखि तराईका विभिन्न शहरहरूमा तापक्रम ४० डिग्री हाराहारी पुग्दै जाँदा सर्वसाधारणका लागि पानीको सहज पहुँच नहुँदा स्वास्थ्यमा समेत असर पर्ने खतरा बढेको छ। यस्तो बेलामा सुरु गरिएको जलसेवाले पैदलयात्री, मजदुर, यात्रु र दैनिक काममा हिँडिरहेका व्यक्तिहरूलाई सघाएको देखिन्छ।
युवा समूहबाट सुरु गरिएको यस्तो सकारात्मक पहलले समाजमा सेवा गर्ने भावनालाई बल दिएको छ। प्रचारभन्दा प्रभावमा केन्द्रित फाउण्डेसनको यो कार्यलाई स्थानीयले पनि सराहना गरेका छन्।
अध्यक्ष कोइरालाका अनुसार फाउण्डेसन आगामी दिनमा पनि यस्तै साना तर प्रभावकारी काममा जुट्नेछ। “सामाजिक परिवर्तनका लागि ठूलो कुरा होइन, निरन्तरता र निष्ठा आवश्यक हुन्छ,” उनले भने।
View : 212
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved