‘आर्म रेस्लिङ किंग एण्ड क्वीन’
विराटनगर - मोरङमा पहिलो पटक जिल्ला स्तरीय ‘आर्म रेस्लिङ किंग एण्ड क्वीन’ प्रतियोगिता आयोजना हुने भएको छ। बरगाछी युवा समूह र स्रष्टा नेपालको संयुक्त आयोजनामा हुने प्रतियोगिता साउन २६ गतेदेखि भदौ २ गतेसम्म विराटनगरमा भव्य रूपमा सञ्चालन हुनेछ। प्रतियोगितामा इग्नाइट फाउन्डेसन र ढाट युवा समूह सहयोगी संस्थाका रूपमा रहने छन् भने मोरङ बडी बिल्डिङ संघ सँग समन्वय गरिनेछ।
गत वर्ष विराटनगर महानगरस्तरीय ‘आर्म रेस्लिङ किंग विराटनगर’ सफलतापूर्वक सम्पन्न गरेका यी संस्थाहरूले यसपटक कार्यक्रमलाई जिल्ला भरि विस्तार गर्दै ‘किंग’ सँगै ‘क्वीन’ प्रतिस्पर्धा पनि थप गरेका हुन्। प्रतियोगितामा पुरुषतर्फ दुई तौल समूह र महिलातर्फ खुला समूहमा प्रतिस्पर्धा हुनेछ।
पुरुषतर्फ ६५ केजीसम्म समूहमा प्रथमले ६० हजार रुपैयाँ र दोस्रोले ३० हजार रुपैयाँ पाउने छन्। ६५ केजीभन्दा माथिको समूहमा प्रथम हुनेले १ लाख ११ हजार रुपैयाँ र दोस्रोले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन्। महिलातर्फ खुला समूहमा प्रथमले ५० हजार रुपैयाँ र दोस्रोले ३० हजार रुपैयाँ पाउनेछन्। साथै एक उदयमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ।
कुल पुरस्कार राशी चार लाख रुपैयाँभन्दा बढी रहेको प्रतियोगिताका विजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिनेछ।
कार्यक्रमका अध्यक्ष आकाश घिमिरेले भने, “हामीले सुरुदेखि नै युवा लक्षित कार्यक्रम गर्दै आएका छौं। यो प्रतियोगिताको उद्देश्य जिल्लाभरका युवा साथीहरूलाई एकजुट गर्दै नेपालको परिवेशमा यो खेललाई छुट्टै उचाइ दिनु हो।”
कार्यक्रम संयोजक रोबिन कार्कीले खेलकुदलाई लागूऔषध दुर्व्यसनको विकल्पको रूपमा स्थापित गर्ने उद्देश्य रहेको बताए। “स्वास्थ्य जीवन, मस्त जीवनका लागि खेलकुद” नारासहित युवाहरूलाई अनुशासित, मर्यादित र संगठित बनाउने हाम्रो लक्ष्य हो,” उनले भने।
महासचिव तथा प्रवक्ता संजोग गौतमले प्रतियोगितालाई व्यवस्थित र व्यावसायिक बनाउँदै नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य रहेको बताए। “देशभर शारीरिक सुगठनमा लागेका साथीहरूलाई एउटै छातामुनि ल्याउने अभियानमा यो पहिलो महत्वपूर्ण पाइला हो,” उनले भने।
आवेदन फारमहरू विराटनगरका जिमहरू, चिया स्टेसन (एयरपोर्ट लाइन), Brew & Chew क्याफे (भट्टा चोक), Epic Diner & Grill, रेनबो गली, Old School क्याफे, Roadcess, वृक्षालय क्याफे (बुढीगंगा) लगायतका स्थानहरूमा र मोरङभरका अन्य जिमहरूमा पनि उपलब्ध हुनेछन्। साथै अनलाइनमार्फत पनि फारम भर्न सकिने छ।
थप जानकारीका लागि आयोजकले ९७०८८४६२८४ मा सम्पर्क गर्न आग्रह गरेका छन्।
View : 146
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved