विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा चिकित्सक डा. योशिका भट्टराईले ३५ वर्षमुनिको युवा महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी छन्।
चिकित्सा क्षेत्रमा सक्रिय भट्टराई एमबीबीएस, एमएस (जनरल सर्जरी) तथा ब्रेस्ट अनकोसर्जरीमा फेलोसिप प्राप्त चिकित्सक हुन्। उनी हाल विराट टिचिङ अस्पताल र विराट नर्सिङ होममा कन्सल्टेन्ट ब्रेस्ट अनकोसर्जन तथा लेक्चररका रूपमा कार्यरत छिन्।
युवा पुस्ता र महिलाको नेतृत्वमा सहभागिता बढाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले कांग्रेसको नेतृत्व तहमा नयाँ पुस्ताको प्रतिनिधित्व आवश्यक रहेको बताएकी छन्। चिकित्सकीय पेशाबाट हासिल गरेको अनुभवलाई राजनीतिक र सामाजिक जिम्मेवारीसँग जोडेर अघि बढ्ने उनको भनाइ छ।
भट्टराईले पार्टीभित्र युवा र महिलाको सहभागितालाई केवल प्रतिनिधित्वमा सीमित नराखी निर्णय प्रक्रियामै प्रभावकारी भूमिका स्थापित गर्नुपर्नेमा जोड दिएकी छन्। स्वास्थ्य, महिला सशक्तीकरण तथा युवाका सवाललाई नीति निर्माणको तहमा उठाउने आफ्नो प्राथमिकता रहेको उनले बताइन्।
‘युवा पुस्ता र महिलाको आवाज नेतृत्व तहमा बलियो रूपमा पुग्नुपर्छ। पेशागत अनुभव र नयाँ सोचसहित पार्टी संगठनमा योगदान गर्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ,’ भट्टराईले भनिन्।
उनले ३५ वर्षमुनिका युवा तथा महिला महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो उम्मेदवारीलाई समर्थन गर्न आग्रहसमेत गरेकी छन्। नयाँ पुस्ताको सहभागिता र महिलाको नेतृत्वलाई थप बलियो बनाउन आफ्नो पक्षमा मतदान गर्न उनले प्रतिनिधिहरूसमक्ष अपिल गरेकी हुन्।
View : 32
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved