विराटनगर, १४ जेठ: विराटनगर महानगरपालिका–४ स्थित एक घरमा विष फाल्ने दुर्लभ प्रजातिको स्पिटिङ कोब्रा सर्प फेला परेको छ। सर्प नियन्त्रणको प्रयासका क्रममा उद्धारकर्ताको शरीरमा विषका छिटा परेपछि उनलाई अस्पताल भर्ना गरिएको छ।
उक्त सर्प नोबेल अस्पताल पछाडि रहेको डा. सुनिल शर्माको निवासमा फेला परेको हो। वन विभागका अनुसार यो प्रजातिको सर्पलाई संकटापन्न सूचीमा राखिएको छ। विशेषता स्वरूप, यसले टाढाबाट नै विष फाल्ने क्षमता राख्दछ, जुन अनुहार तथा आँखामा परे गम्भीर क्षति पुर्याउन सक्छ।
सर्प उद्धार टोलीका सदस्य शम्भु घिमिरेका अनुसार, सर्पलाई नियन्त्रणमा लिने क्रममा उसले विष फाल्दा विषका छिटा उनको शरीरमा परेको थियो। उनलाई तत्काल उपचारका लागि कोसी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ र स्वास्थ्य निगरानीमा राखिएको छ।
जिल्ला वन कार्यालयले सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको छ र अब संरक्षण प्रक्रियामा लैजाने तयारी भइरहेको जनाएको छ। यस घटनापछि महानगरपालिकाले अन्य क्षेत्रमा पनि यस्ता सर्प देखिए तुरुन्त जानकारी दिन अपिल गरेको छ।
गर्मी बढेसँगै सर्पको गतिविधि तीव्र हुने भएकाले सावधानी अपनाउन सम्बन्धित निकायले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।
View : 559
 कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                           
                            कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
                        Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved