सुन्दरहरैंचा । नेपाल पूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष प्रनाउ बद्री विक्रम थापाले पूर्व प्रहरीबीचको एकता, संस्थागत सुदृढीकरण र सदस्यहरूको हितलाई केन्द्रमा राखेर संगठनका गतिविधि अघि बढाउनुपर्ने बताएका छन्।
नेपाल पूर्व प्रहरी संगठन परिवार, सुन्दरहरैंचा नगर कमिटीको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै थापाले स्थानीय तहका संगठनहरूलाई थप सक्रिय र व्यवस्थित बनाउँदै पूर्व प्रहरीका साझा विषयलाई संस्थागत रूपमा उठाउनुपर्नेमा जोड दिएका हुन्।
सुन्दरहरैंचा–९ स्थित नागदेवी मन्दिरको सभाहलमा सम्पन्न सभामा थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा संगठनका विभिन्न स्थानीय तहका अध्यक्ष तथा प्रतिनिधि, जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा पूर्व प्रहरी परिवारका सदस्यहरूको सहभागिता थियो।
साधारण सभाले तुलसी प्रसाद निरौलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। दुई वर्षे कार्यकाल पूरा भएपछि पुरानो कार्यसमिति विघटन गरी नयाँ नेतृत्व चयन गरिएको हो।
प्रहरी निरीक्षक उपेन्द्र पराजुलीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया पूरा गरेपछि निरौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। नयाँ समितिमा अधिकांश नयाँ सदस्य समेटिएका छन्।
साधारण सभामा संगठनमा योगदान पुर्याउने विभिन्न व्यक्तित्व तथा सहयोगी संस्थालाई सम्मानसमेत गरिएको थियो। ज्येष्ठ सदस्यतर्फ प्रह हरि बहादुर खड्का, उत्कृष्ट योगदानतर्फ प्रह रणजङ डाँगी, सहयोगी संस्थाका रूपमा बुढाथोकी ड्राइभिङ सेन्टर, बासबारी मोरङ र सहयोगी व्यक्तित्वका रूपमा विनिता दाहाललाई सम्मान गरिएको थियो।
कार्यक्रममा संगठनको आगामी कार्यदिशा, सदस्यको हित तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। नवनिर्वाचित समितिले संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउँदै पूर्व प्रहरी परिवारको हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।
View : 41
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved