चिकित्सक आन्दोलन
काठमाडौं– आवासीय चिकित्सक र सरकारले तीन बुँदे सहमति गरेपछि लामो समयदेखि जारी आवासीय चिकित्सकहरूको आन्दोलन शनिबारदेखि स्थगित भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकबीच शनिबार भएको छलफलपछि चिकित्सा शिक्षा आयोगको १६औं बैठकको निर्णय कार्यान्वयन गर्ने, म्याचिङ प्रक्रिया यथाशीघ्र सुरु गर्न आयोगलाई निर्देशन दिने, र बिदा सम्बन्धी विषयमा कार्यदल बनाएर समाधान खोज्ने सहमति भएको हो।
सहमतिको घोषणा गर्दै मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयले चिकित्सकहरूको जायज मागहरूप्रति प्रतिबद्धता जनाएको स्पष्ट पारे। ‘स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विषयमा दुई पक्षीय सहमति भइसकेको छ,’ मन्त्री पौडेलले भने, ‘अब आन्दोलनको आवश्यकता छैन भन्ने निष्कर्षमा चिकित्सक संघ र आवासीय चिकित्सकहरू पुगेका छन्।’
आवासीय चिकित्सकहरूले उठाएका मुख्य मागहरूमा आठौं तहअनुसारको निर्वाह भत्ता, सुत्केरी तथा बिरामी बिदा, र ड्युटी समयको स्पष्ट व्यवस्था रहेका थिए। मन्त्री पौडेलले निजी मेडिकल कलेजहरूलाई पनि चिकित्सकहरूका मागअनुसार सुविधा दिन आग्रह गरिएको जानकारी गराए।
‘कसैको दबाबमा होइन, समस्या समाधान गर्ने इमानदार प्रयासस्वरूप सरकार र निजी क्षेत्र दुवै तर्फबाट सकारात्मक प्रतिक्रिया आएको छ,’ उनले भने।
चिकित्सकहरूको आन्दोलन स्थगनसँगै केही प्रतिष्ठानअन्तर्गतका कलेजहरूमा चिकित्सकहरू फर्किसकेको र बाँकी ठाउँहरूमा पनि काम गर्ने वातावरण बनाउन आग्रह गरिएको मन्त्री पौडेलले जानकारी दिए।
यद्यपि, आवासीय चिकित्सकहरूले सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा फर्किने चेतावनी दिएका छन्।
View : 47
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved